१३ बैशाख २०८१, बिहीबार

आठ महिनामा रु ४० हजार राजश्व सङ्कलन

Choti

दार्चुला सदरमुकामस्थित छोटी भन्सार कार्यालयले विगत आठ महिनामा रु ४० हजार मात्र राजश्व सङ्कलन गरेको छ ।

गत चैत ११ गतेदेखि लागू भएको बन्दाबन्दीसँगै नेपाल– भारत सीमा बन्द भएको र त्यस अवधिमा तीन दिन मात्र भन्सार राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

कार्यालयका कर्मचारी मोहन डोबालका अनुसार विगत आठ महिना तीन दिन मात्रै आर्थिक कारोबार भएको छ । यस अवधिमा भारतबाट आयात भएका समानबाट रु ४० हजार राजश्व सङ्कलन भएको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले सिमावर्ती भारतीय प्रशासनको समन्वयमा पुल खुलाएपछि तीन दिन राजश्व सङ्कलन भएको हो । जिल्ला प्रशासन कार्यालय दार्चुलाले हप्तामा दुई दिन सीमा पुल खुलाउने निर्णय गरेसँगै भन्सारको राजश्व पनि उठ्न थालेको छ । बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म पुल खुलाउँदा रु तीन हजार २१७ राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

सोमबार नेपाल भारत जोड्ने झोलङ्गे पुल बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्दा रु ३५ हजार बढी राजश्व सङ्कलन भएको थियो । छोटी भन्सार कार्यालय दार्चुला भारतसँगको व्यापारमा निर्भर छ । भारतबाट आयात हुने सामग्रीबाट भन्सारले राजश्व उठाउँदै आएको छ । यस अवधिमा चिनी, सख्खर, तेल, प्याज र खाद्यान्न वस्तु नेपालमा आयात भएको छ ।

विगतमा मासिक एक लाख रुपैयाँ भन्दा बढी राजश्व सङ्कलन गर्दै आइरहेको छोटी भन्सार कार्यालय दार्चुलाले बन्दाबन्दीदेखि राजश्व उठाउन सकेको थिएन् । दार्चुलामा भारतसँग सीमा जोडिएका आधादर्जन बढी सीमा पुल वैधानिक रुपमा सञ्चालन भएको भए पनि भन्सार कार्यालय सदरमुकाम खलङ्गामा मात्रै छ । दार्चुलाको लाली, जोलजीवि, दत्तु, खलङ्गा, तिगरम र सीता पुल वैधानिक नाका हुन् ।

यो बाहेक तीन ठाउँमा नेपाल भारत जोड्ने झोलुङ्गे पुल निर्माणाधीन छ । पुल निर्माण भए पनि भन्सार स्थापना हुन नसक्दा सदरमुकाम खलङ्गाबाहेकका नाकाबाट अवैध समान भित्रिने गरेको छ । दार्चुलाको मुल भन्सार कार्यालय अहिले पनि झुलाघाट बैतडी हो ।

दुई दिन पुल खुल्ने

कोभिड–१९ का कारण गत चैत ११ गतदेखि बन्द रहेको दार्चुलास्थित नेपाल–भारत सीमा जोड्ने झोलङ्गे पुल हप्तामा दुई दिन खोल्न शुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले सीमा पुल बन्द हुँदा नेपाली मजदूर र विद्यार्थी मर्कामा परेको भन्दै सातामा दुई दिन पुल खुलाउन भारतीय पक्षलाई आग्रह गरेसँगै पुल खुलेको हो । पुल बुधबार र शनिबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म खुल्ने प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताउनुभयो ।

दैनिक छ घण्टा पुल खुलेपछि सर्वसाधारण, मजदूर र विद्यार्थीलाईसमेत सहज भएको छ । कोभिड–१९ का कारण पुल नखुल्दा यहाँका स्थानीयवासीलाई बिहेबारी, औषधि उपचार, विद्यार्थीको पठनपाठन, रोजगारीलगायत दैनिक जनजीवनमा कठिनाइ उत्पन्न भएको भन्दै सबै पक्षबाट हप्तामा दुई दिन पुल खोल्ने प्रस्ताव आएको यिथो । पुल खुल्ने भएपछि सर्वसाधारणलाई सहज भएको छ ।

म्याद नाघेका समान भित्रिदै

जिल्ला प्रशासन कार्यालय दार्चुलाले हप्तामा दुई दिन नेपाल भारत जोड्ने झोलङ्गे पुल खुला गर्ने निर्णयसँगै सिमावर्ती भारतीय बजार धार्चुलाबाट म्याद नाघेका समान भित्रिन थालेको छ । छोटी भन्सार कार्यालय दार्चुलाका अनुसार दैनिक उपभोग्य वस्तु तथा जङगफुड म्याद नाघेको भित्रिन थालेको हो ।

धार्चुलाका व्यापारीले आठ महिनादेखि बिक्री नभएर थन्किएको समान अहिले नेपाली बजारमा पठाउन थालेको छ । पुलघाटमा खटिएका सुरक्षाकर्मीका अनुसार पिठो, खाने तेल, बिस्कुटलगायत जङ्गफुड म्याद नाघेको भेटिने गरेको छ । म्याद नाघेका केही समान फिर्ता गर्न पठाइए पनि अधिकांश व्यापारी तथा सर्वसाधारणले त्यतिकै सामान लिएका छन् ।

अहिलेकै अवस्थामा म्याद नाघेका वस्तु आउने क्रम नरोकिए स्थानीय प्रशासनले बजार अनुगमन गरी नष्ट गर्नुको विकल्प नरहेको सुरक्षाकर्मी बताउँछन् ।

मूल्य वृद्धि ह्वात्तै बढ्दै

नेपाल भारत झोङ्गुे पुल खुलेसँगै नेपाली ग्राहकको भारतीय बजार धार्चुलामा भीड बढेको छ । दैनिक उपभोग्य सामान तथा अन्य सामग्री खरिद गर्न भारतीय बजारमा ग्राहकको भीड बढेको हो । सोमबार पुल खुल्दा धार्चुलामा रहेका व्यापारीका गोदाममा रहेका खाद्यान्नलगायत सामग्री सकिएको थियो । बढ्दो नेपाली ग्राहकका कारण प्याज, चिनी, चामल, पिठोलगायत खाद्यान्न सामग्रीको धार्चुलामै अभाव भएको छ ।

सोमबार भारतीय रुपैयाँ ५० मा बिक्री भइरहेको प्याजको मूल्य बुधबार ८० रुपैयाँ पुगेको छ । प्याजको माग बढ्दो भएपछि धार्चुलामासमेत मूल्य वृद्धि भएको नेपाली ग्राहकले बताएका छन् । सोमबार नै दिउँसो हुँदा १० रुपैयाँ बढाएर ६० पु¥याइएको थियो । बुधबार बजारमा प्याज पाइए पनि ८० रुपैयाँ भारु पुगेको छ ।

खलङ्गा बजारमा चिनियाँ प्याज पुगेको भए पनि मूल्य वृद्धि भएर २०० रुपैयाँ पुगेको छ ।