६ बैशाख २०८१, बिहीबार

लैङ्गिक हिंसा अन्त्य गर्न सबै जुट्नुपर्छ : मन्त्री श्रेष्ठ

Lilanath Shrestha

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठले लैङ्गिक हिंसा अन्त्य गर्न सबै जुट्नुपर्ने बताएका छन् ।

सबै किसिमका हिंसा विकासको बाधक भएको उल्लेख गर्दै उनले यस्ता हिंसाविरुद्ध प्रत्येक व्यक्ति र परिवार प्रतिवद्ध हुनुपर्ने बताए ।

दमक नगरपालिकासहित विभिन्न सङ्घसंस्थाको समन्वयमा आजदेखि शुरु भएको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको भर्चुअलरुपमा उद्घाटन गर्दै मन्त्री श्रेष्ठले सबै प्रकारका हिंसाविरुद्ध सरकार कडारुपमा प्रस्तुत भइरहेको र हिंसाविरुद्ध सरकारले शुन्य सहनशीलता अपनाउँदै आएको बताए ।

उनले भने, “लैङ्गिक हिंसाको अन्त्य गर्न सरकारको प्रयास र कानून मात्रले उपलब्धि हासिल हुन नसक्ने भएकाले त्यसविरुद्ध हरेक व्यक्ति, समाज र सबैमा सकारात्मक चेतना आउन जरुरी छ ।”

‘लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता, व्यक्ति समाज र सबैको ऐक्यबद्धता’ भन्ने नाराका साथ शुरु अभियानको उद्घाटनका क्रममा प्रदेश १ का योजना तथा सुशासन समिति सभापतिसमेत रहनुभएका प्रदेश सांसद अर्जुन राईले हिंसालाई सधैँका लागि अन्त्य गर्न सबै नागरिक जुट्नुपर्ने बताए ।

नगरपालिकाकी उपप्रमुख गीता अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा वक्ताले लैङ्गिक हिंसाको अन्त्य गर्न साझा प्रतिवद्धता जनाएका थिए ।