७ बैशाख २०८१, शुक्रबार

भारतले सुनेपनि नसुनेपनि हामीले बोल्न छोड्नु भएन, चीनसँग लडाइँ लडुन्जेल बस्ने भनेको कालापानी छोड्दै छोडेन

डा.भेषबहादुर थापा

नेपाल भारत सीमाको नक्साको अध्ययन गर्दा कालापानी, लिपुलेकमा हाम्रो हक अधिकार छ । त्यो भारत र नेपाल दुवैतिरबाट राम्रोसँग अध्ययन गरेर बनाएको नक्सा हो । त्यो नक्सामा स्पष्ट रुपमा यी भूमिहरु नेपालको नक्सामा छ, त्यसैले यसमा नेपालले पछि हट्ने कुरा हुँदैन । भारतले दाबी गरेको छ । उसले हाम्रो भन्दा हामीहरुले पनि त हाम्रो भनेका छौं । उनीहरुले भनेको हामीहरुले विश्वास गरेका छैनौं । त्यसकारण यसको बारेमा वार्ता भएको सात दशकभन्दा लामो अवधि भयो ।

यति लामोसम्म एउटै समस्या ग्रसित भएर ठोस निष्कर्षमा पुग्न नसक्नु हाम्रो सरकार प्रमुखहरुको गल्ती हो । कसैको सीमा मिच्ने अधिकार कुनै राष्ट्र, सरकार वा देशलाई छैन । म नेपालको लागि भारतको राजदूत हुँदा पनि यो विषय उठेको थियो । देहरादुनमा हाम्रो सर्वेयर जनरल र भारतीय सर्वेयर जनरलहरुबीच प्राविधिक तहको बैठक पनि भएको हो । त्यसले निष्कर्षको खोजि पनि गरेको थियो । त्यसताका नेपालमा राजनीतिक द्वन्द्व बढ्यो । त्यसबेला शान्तिसुरक्षा बिग्रदा आन्तरिक समस्या समाधानतिर केन्द्रित भयो, वाह्य कुरातिर भएन ।

पहिलादेखि अहिलेसम्मका सरकारहरु चाहे त्यो स्वतन्त्र होस् या पार्टीको जसले पनि हाम्रो हक अधिकारको कुरा उठाउन छोडेको छैन । भारत र नेपाल दुवै आफ्नो अडानबाट पछि हटेका छैनन् र हट्ने सम्भावना पनि छैन । विषयलाई टुंग्याउन बीच–बीचमा कुरा नभएको होइन । आइके गुजरालको पालामा होस् या अटल विहारी वाजपेयी प्रधानमन्त्री र लालकृष्ण आडवाणीजी त्यो बेलामा गृहमन्त्री हुनुहुँदा मैंले गएर यो विषयमा कुरा गर्दा उहाँहरुले कुनै ठोस जवाफ दिनुभएन । तर प्रक्रिया सुरु गर्नुभयो । त्यतिबेला भारतीय राजदूत केभी राजनलाई कालापानी पठाएर यो विषयको अध्ययन गराएर प्रतिवेदन देउ भनेको मलाई थाहा छ । जबदेखि भारतीय सेनाहरु त्यहाँ गएर अखडा जमाए त्यसबेला चीन र भारतको सम्बन्ध ज्यादै चिसो थियो ।

युद्धको सुरुवातको कुरा थियो । त्यो भूभाग नेपालको घनावस्ती भएको ठाउँ होइन । जब भारतीय सेना त्यहाँ पुगेको कुरा नेपालमा खबर आयो । त्यसमा एउटा वरिष्ठ नेताले राजा महेन्द्रले भारतलाई दिए भन्ने पनि संकेत गर्नुभयो । त्यसरी आफ्नो देशको भूभाग दिने अधिकार कसैलाई पनि छैन । राजा महेन्द्रले दिनुभएको होइन, त्यसै भनेर हुँदैन । पञ्चायती शासकहरुले कालापानी भारतलाई सुम्पिए भन्ने पनि सुनियो । यसमा मैले राम्रोसँग अध्ययन गरेको कुनै सुम्पिएको छैन । अध्ययन नै नगरी जथाभावी भन्नुहुँदैन । त्यो बेलामा पनि विवादरहित भएको होइन विवाद थियो । यसलाई ठ्याक्कै भन्नुपर्दा उनीहरुको सुरक्षाको दृष्टिकोणले हाम्रो कमजारीका कारण उनीहरुले फाइदा लिएका मात्रै हुन् । कालापानीमा भारतीय सेना आएर बस्यो र चीन र भारतबीच लडाईं भयो ।

जब कालापानीमा भारतीय सेना बसेको जानकारी नेपाल आएपछि राजा महेन्द्रले चीन र भारतको लडाइँ भएको बेलामा यो विषय उठाउँदा त्रिपक्षधर भएको हुनसक्छ । त्यसैले यो युद्ध समाप्त भएपछि उठाउने भन्ने कुरा भएको थियो । युद्ध समाप्तीपछि राजा महेन्द्रले कुरा उठाउनुभयो । उहाँ मौन रहनुभएन । भारत र चीनबीच युद्ध हुँदा उहाँले कसैको पनि पक्ष लिनुभएन । उहाँले कालापानी भारतलाई दिनुभएको छैन । भू–भाग कसैले दिएर दिइन्छ रु त्यो दिने अधिकार न राजाको छ, न अरु नेताको छ ।

भारतलाई कालापानी दिन सहमति गरेको केही प्रमाण त चाहियो नि रु सहमति गरेको प्रमाण कहाँ छ रु सहमति भए अहिले भारते देखाउने थियो होला नि । हामीलाई दिइसकेको फलानो राजाले भनेर । यसरी भूमि दिने अधिकार राजालाई पनि छैन । कहाँबाट दिने त्यसको रेकर्डा कहाँ राख्ने । भारतले चाइनासँग लडाइँ लडुन्जेल कालापानीमा बस्ने भनेको थियो । पछि छोड्दै छोडेन । त्यो बेलाको सरकारले असहमति प्रकट गर्यो । त्यो प्रकट गरेको छ, हरेक प्रधानमन्त्री भारत भ्रमणमा जाँदा यो विषय उठाउनुभएको छ । सबैले विषय उठाएका छन् । म आपंैmले भारतको गृहमन्त्रीसँग, परराष्ट्र सचिवसँग कुरा गरेको छु । विरोध गर्नलाई कसैले बाँकी राखेका छैनन् । सीमाविवादका बारेमा छलफल गर्न दु्ईवटै परराष्ट्र सचिवलाई अधिकार दिएको प्रमाण छ ।

अहिले आएर एउटाले अर्कोलाई दोष दिने काम होइन । यसमा आफू – आफू झगडा गरेर केही हुँदैन । यसमा नेपालको सर्वेयर र भारतीय सर्वेयरबीचको पनि कुरा भएको छ । त्यसमा नेपाल आफ्नो दावीको प्रमाण पनि पेश गरेको छ । कुराहरु भइरहेका हुन् तर निष्कर्षमा पुग्ने कुरा प्रभावकारी हुन सकेको छैन । कालापानीको विषयमा गिरिजाप्रसाद कोइरालाको पालामा सबैभन्दा धेरै कुरा उठेको हो । त्यसबेला स्टेटमेन्ट हेर्नुस् न यो वार्ता परराष्ट्र सचिवसँग गर्ने भनेर निष्कर्षमा पुगेको छ ।

प्रचण्डले के गर्नुभयो मलाई थाहा भएन ।

माधव नेपाल, झलनाथ खनाल र केपी ओलीले के गर्नुभयो त्यतिबेला म थिइँन, त्यसैले मलाई थाहा छैन ।

भारतसँग कालापानीका सवालमा गिरिजाबाबु, सूर्यबहादुर थापा र शेरबहादुर देउवाले दरिलो ढंगले कुरा उठाउनुभएको हो । तर, यो समस्याको हल निस्किएन । भारतले नयाँ राजनीतिक नक्सा भनेर निकाल्यो । त्यसमा विरोध भइसकेको छ । त्यसैगरी पहिलाका शासकहरुले पनि हामीले यति भूभाग तपाईंहरुलाई सुम्पियौं भनेको छैन ।

कालापानी नेपालको हो भन्ने प्रमाण छ । नेपालको नापी विभागमा त्यसको प्रमाण छ । त्यो बेलाका र अहिलेका महानिर्देशकहरु समस्यासँग परिचित छन् । हामीले लिएको प्रमाणहरु पनि उपलब्ध छन् । त्यसैले समस्या किन हल भएन भन्ने प्रश्न ठीक हो । गरिएका प्रयासहरु निष्कर्षमा पुगेनन् । यसमा आलटाल गर्ने प्रवृत्ति दुवैतिर देखियो । संवाद हुन थालेको थियो । त्यसबेला नेपालमा राजनीतिक द्वन्द्वभयो  र, यो विषय अलमलिएर बसेको थियो । अहिले आएर भारतबाट जुन कदम चालिएको छ । जसको कारण प्रश्न उठेको छ । यसको समाधानको लागि नेपालले स्वकारेको छैन  स्वीकार्ने कुरा पनि होइन ।

समाधानको लागि झगडा गर्ने कुरा होइन । कालापानीको विषयमा नेपाल र भारतका दुई प्रधानमन्त्री बसेर संवादगर्ने होइन । यसको त प्राविधिक पक्ष छ । राजनीतिक रुपमा कुरा उठेको कारणले नै सचिवस्तरमा जिम्मा लगाइएको हो । अब यसको विरोध गर्ने, प्रतिकार गर्ने कुराले निरन्तरता पाउनुपर्छ । झगडाभन्दा समझदारीको बाटो खोज्नुपर्छ । भारतले सुनेपनि नसुनेपनि हामीले बोल्न त छोड्नुभएन । साभार : पूर्व परराष्ट्रमन्त्री डा.भेषबहादुर थापासँग ऋषि धमलाले लिएको अन्तवार्ता