१६ चैत्र २०८०, शुक्रबार

व्यानपाले नागरिकसँग मत सर्वेक्षण गरी नीति र कार्यक्रम बनाउने

byas nagarpalika

व्यास नगरपालिकाले नगरवासीको मत सर्वेक्षणका आधारमा आगामी वर्षको नीति, कार्यक्रम र योजना तर्जुमा गर्ने भएको छ । जनप्रतिनिधि निर्वाचित भएको ४३ महिना पूरा भइसकेकाले नगरपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रम नगरवासीको मत सर्वेक्षणका आधारमा गर्न लागेको हो ।

जनताको सुझावलाई ग्रहण गर्दै नीति, कार्यक्रम, योजना र प्राथमिकता निर्माण गर्न लागिएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । त्यसका लागि नगरपालिकाले शेयरकाष्ट इनिसिएटिभ नेपाल संस्थासँग सहकार्य गर्ने निर्णय गरेको छ । “नगरवासीको सुझावका आधारमा योजना बनाउन मत सर्वेक्षणको तयारी गरेका छौ, नगरवासीको सुझाव हाम्रा लागि मार्गदर्शन हुनेछन्,” न्यौपानेले भन्नुभयो ।

मानुङमा पूर्वाधार निर्माण गरिने

पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको तनहुँको व्यास नगरपालिका–५ मानुङमा पूर्वाधार निर्माणका लागि गण्डकी प्रदेश सरकारसँग साझेदारी गरिने भएको छ । मानुङमा तत्कालै केही पूर्वाधार निर्माणको आवश्यकता देखिएकाले व्यास नगरपालिकाले प्रदेश सरकारसँग साझेदारी गर्ने निर्णय गरेको हो ।

नगरपालिकाका प्रवक्ता एवं व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले मानुङ जाने ढलान भएको बाटोमा फलामको रेलिङ राख्न र पर्यटक आराम गर्ने ‘सेड’ निर्माण गर्न प्रदेश सरकारसँग अनुरोध गरिएको जानकारी दिनुभयो । साथै मानुङमा पिउने पानीको लिफ्टिङ योजना सञ्चालनका लागि प्रदेश सरकारलाई अनुरोध गरिएको छ ।

गत हप्तामात्रै प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले मानुङको विकासका लागि चासो व्यक्त गर्नुभएको थियो । मानुङको अवलोकन गर्दै मन्त्री गुरुङले चालु आर्थिक वर्षमै मानुङमा पूर्वाधार निर्माणका लागि बजेट सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । त्यसलगत्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका कार्यक्रम संयोजक जुद्ध गुरुङको नेतृत्वको टोलीले मानुङको भ्रमण गरेको थियो ।

सूर्योदय र कुहिरो अवलोकनका लागि मानुङमा देशका विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक आउने गरेका छन् । दशैं लगत्तैको शनिबार एकैदिन दश हजार भन्दा बढीले मानुङकोटको भ्रमण गरेका थिए । त्यसयता पनि दैनिक पाँचसयदेखि एक हजारसम्म पर्यटक मानुङ पुग्ने गरेका छन् ।