७ बैशाख २०८१, शुक्रबार

प्रिमियर लिग: लेस्टरलाई हराउँदै लिभरपुल दोस्रो स्थानमा, आर्सनल बराबरीमा रोकियो

Liverpool Leicester

साविक विजेता लिभरपुल लेस्टरलाई पराजित गर्दै प्रिमियर लिगको दोस्रो स्थानमा उक्लेको छ । मुख्य खेलाडीहरु चोट र कोरोना संक्रमणका कारण टिममा नरहेपनि लिभरपुलले लेस्टरलाई ३-० ले पराजित गरेको हो ।

फरवार्ड मोहम्मद सालाह देखि थियागो अन्कान्टारा भर्जिल भान डाइक ट्रेन्ट अलेक्जान्डर आर्नोल्ड जो गोमेज जोर्डन हेन्डरसन जस्ता खेलाडी मैदान बाहिर रहे पनि लिभरपुलले घरेलु मैदानमा शानदार जित हात पारेको हो ।

एनफिल्डमा लेस्टरा जोनी इभान्सले २१औं मिनेटमा आत्मघाती गोल गरेपछि लिभरपुलले पहिले अग्रता लिएको थियो । ४१औं मिनेटमा डिएगो जोटाले गोल गर्दै पहिलो हाफमा लिभरपुलको अग्रता दोब्बर पारे । ८६औं मिनेटमा रोवर्टो फिर्मिनोले गोल गर्दै लिभरपुललाई ३-० को जित दिलाए ।

अपराजित हुँदै नयाँ कीर्तिमान

यस जितपछि लिभरपुलले घरेलु मैदानमा ६४ खेलमा अपराजित हुँदै नयाँ कीर्तिमान समेत बनाएको छ ।

जितपछि ९ खेलबाट २० अंक जोडेको लिभरपुलले शीर्ष स्थानको टोटनहमसंग अंक बराबरी गरेको छ । समान अंक जोडेको लिभरपुल गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ । पराजित लेस्टरले भने शीर्ष स्थानमा उक्लने मौका गुमायो । ९ खेलबाट १८ अंक रहेको लेस्टर चौथो स्थानमा छ ।

प्रिमियर लिगकै अर्को खेलमा एभरटनले फुलहमलाई ३-२ ले पराजित गरेको छ । एभरटनका लागि डोमिनिक काल्भर्ट लेविनले दुई गोल गरे । जितपछि ९ खेलबाट १६ अंक जोडेको एभरटन छैटौं स्थानमा उक्लेको छ ।

यस्तै आर्सनलले लिड्स युनाइटेडसंग गोलरहित बराबरी खेलेको छ । बराबरीपछि आर्सनल १३ अंकसहित ११औं स्थानमा छ भने ११ अक रहेको लिड्स १४औं स्थानमा छ ।