१५ चैत्र २०८०, बिहीबार

पेन्सिल्भेनिया राज्यको मतगणना उल्ट्याउने ट्रम्पको निवेदन खारेज

trump 1

अमेरिकी राज्य पेन्सिल्भेनियामा मतगणनामा धाँधली भएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको उजुरीलाई संघीय अदालतले शनिबार खारेज गरिदिएको छ ।

अमेरिकी राष्ट्रपतिको निर्वाचनमा पराजय स्वीकार्नु सट्टा राष्ट्रपति ट्रम्पले विभिन्न राज्यको मतगणनामा धाँधली भएको भन्दै उजुरी दिइरहनु भएको छ । तर पेन्सिल्भेनिया राज्यका न्यायाधीशले दिएको फैसलाले ट्रम्पको अभियानमा ठूलो धक्का लागेको छ ।

यो निर्णयसँगै पेन्सिल्भेनिया राज्यले राष्ट्रपतिका डेमोक्रेट उम्मेदवार जो बाइडेनको पक्षमा मतपरिणाम सदर गर्न बाटो खुलेको छ । अब सोमबार पेन्सिल्भेनिया राज्यले बाइडेन विजयी भएको प्रमाणपत्र दिनेछ ।

आगामी जनवरी २० मा राष्ट्रपतिको शपथ कार्यक्रम नजिकिँदै जाँदा ट्रम्पको कानुनी टोलीले भने केही राज्यबाट बाइडेनलाई विजयी भएको प्रमाणपत्र दिन ढिलाई गर्ने योजनामा ध्यान दिइरहेको छ । तर ट्रम्पको कानुनी टोलीले दर्ता गरेका कैयौं निवेदनलाई सम्बन्धित राज्यका न्यायाधीशहरुले पर्याप्त आधार प्रमाणको अभाव भन्दै खारेज गरिदिएका छन् ।

न्यायाधीश म्याथ्यू ब्रानले आफ्नो आदेशमा ट्रम्पको कानुनी टोलीले पेन्सिल्भेनिया राज्यमा हुलाकबाट प्राप्त मतपत्रका बारेमा उचित र पर्याप्त प्रमाण पेश गर्न नसकेको बताउनु भएको छ ।

बाइडेनले हालसम्म ३०६ इलेक्टोरल मत प्राप्त गर्नु भएको छ भने राष्ट्रपति ट्रम्पले २३२ मत मात्र प्राप्त गर्नु भएको छ । आगामी डिसेम्बर १४ मा इलेक्टोरल कलेज (निर्वाचक प्रतिनिधि) ले औपचारिक रुपमा राष्ट्रपतिलाई मतदान गर्नेछन् र त्यसभन्दा अघि नै सबै राज्यले इलेक्टोरल कलेजलाई प्रमाणीकरण गरिसक्नु पर्नेछ ।

तर ट्रम्पले चुनावी परिणामलाई अझै स्वीकार्न नचाहेका कारण राष्ट्रपतिको औपचारिक निर्वाचनमा अन्यौल कायमै छ । राष्ट्रपति ट्रम्प सहित उहाँको दल रिपब्लीकन पार्टीका बहुमत सदस्यले डेमोक्रेट उम्मेदवार बाइडेनलाई खुलेर समर्थन गरेका छैनन् ।

केही झिनो संख्याका रिपब्लीकन सदस्यहरुले मात्र चुनावी परिणामलाई स्वीकार्नु पर्ने बताउँदै आएका छन् ।

पेन्सिल्भेनियाको अदालतको आदेश लगत्तै रिपब्लीकन पार्टीका तर्फबाट सिनेट सदस्य प्याट टूमीले बाइडेनले सन् २०२० को राष्ट्रपति निर्वाचन जित्नु भएको र उहाँ नै संयुक्तराज्य अमेरिकाको ४६औं राष्ट्रपति हुने धारणा अघि सार्नु भएको छ ।

उहाँले राष्ट्रपति ट्रम्पले हार स्वीकार्नुको विकल्प छैन भन्दै बाइडेनलाई संक्रमणकालीन प्रक्रियामा सामेल गर्नुपर्ने पनि बताउनु भएको छ ।

चुनावी मतगणनामा पेन्सिल्भेनियामा बाइडेनले १ लाख ५५ हजारभन्दा बढी मतले ट्रम्पलाई पराजित गर्नु भएको देखिएको छ ।