७ बैशाख २०८१, शुक्रबार

गोपीचन्द्र पार्की टोकियो ओलम्पिकका लागि छनोट

gopi chandra parki

सशस्त्र प्रहरी बलको एपीएफ क्लबका गोपीचन्द्र पार्की सन् २०२१ मा जापानको टोकियोमा आयोजना हुने ओलम्पिकका लागि नेपालबाट छनोट हुनुभएको छ । बाँकेको नेपालगञ्जमा शनिबार सम्पन्न म्याराथन उपाधि जितेसँगै पार्की टोकियो ओलम्पिकका लागि छनोट हुनुभएको हो ।

पार्कीले छैटौँ धारा नेपालगञ्ज म्याराथनको उपाधि जित्नुभएको हो । पार्कीले गत वर्ष मङ्सिरमा नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा पाँच हजार मिटर दौडमा स्वर्ण पदक जित्नुभएको थियो । पच्चीस खेलाडीे सहभागी म्याराथनमा पार्कीले निर्धारित ४२ दशमलव १९५ किलोमिटरको दूरी दुई घण्टा १८ मिनेट ५९ सकेन्डमा पूरा गर्नुभएको थियो ।

नेपाली सेनाका कृष्ण बस्नेत दोस्रो हुनुभयो । उहाँले दुई घण्टा २० मिनेट ४९ सेकेन्डमा दौड पूरा गर्नुभयो । नेपाली सेनाकै खगेन्द्र भाट दुई घण्टा २७ मिनेट २८ सेकेन्डमा दूरी पूरा गर्दै तेस्रो हुनुभयो । पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः रु ७५ हजार, रु ३० हजार तथा रु १० हजार पुरस्कार प्राप्त गर्नुभएको आयोजक संस्था क्रिएटिभ ह्यान्ड्सका अध्यक्ष टिएस ठकुरीले जानकारी दिनुभयो ।

कोरोना भाइरसको महामारीका कारण अन्य प्रतियोगिता आयोजना हुन नसक्दा नेपाल ओलम्पिक कमिटी (एनओसी)ले नेपालगञ्ज म्याराथनको विजेतालाई टोकियो ओलम्पिकमा सहभागिता गराउने निर्णय गरेको थियो ।

यसैगरी महिला हाफ म्याराथनको उपाधि एपीएफ क्लबकी पुष्पा भण्डारीले जित्नुभयो । तेह्रौँ सागको हाफ म्याराथनमा रजत पदक जित्नुभएकी पुष्पाले निर्धारित दूरी एक घण्टा २६ मिनेट ५४ सेकेन्डमा पूरा गर्नुभयो । उहाँले रु ३० हजार पुरस्कार प्राप्त गर्नुभयो । यस्तै कर्णाली प्रदेशकी मञ्जु रावत एक घण्टा ३० मिनेट ७ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो हुनुभयो भने शर्मिला घर्तीले एक घण्टा ३८ मिनेट १४ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो स्थान हासिल गर्नुभयो । रावत र घर्तीले क्रमशः रु १५ हजार र रु १० हजार पुरस्कार प्राप्त गर्नुभयो ।

    सम्बन्धित समाचार...