१६ चैत्र २०८०, शुक्रबार

नलगाड जलविद्युत् आयोजनाको डिपिआरको काम तत्काल सम्पन्न गर्न ऊर्जा मन्त्रीको निर्देशन

hydroproject nalgada

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नगलाड जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को काम तत्काल सम्पन्न गर्न सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ । जाजरकोटमा आयोजनास्थल रहेको कूल ४१७ मेगावाट क्षमताको जलाशययुक्त सो आयोजनाको डिपिआरको तयारीमा नै लामो समय लागेको गुनासो आएपछि मन्त्री पुनले उक्त निर्देशन दिनुभएको हो ।

जाजरकोटबाट प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, ऊर्जा मन्त्रालयका सहसचिव प्रवीणराज अर्याल र नलगाड हाइड्रोपावर कम्पनीका अध्यक्ष मोहनराज पन्त र कार्यकारी अधिकृत रामगोपाल लगेजु सहभागी आजको छलफलमा मन्त्री पुनले तत्काल डिपिआर सक्न निर्देशन दिनुभएको हो ।

चार वर्षभन्दा लामो समयदेखि डिपिआरको काम जारी रहे पनि अझै पूरा हुनसकेको छैन । परामर्शदाता कम्पनी एमडब्लुएच कन्सलटेन्टले डिपिआर ३२ महिनाभित्र सक्ने गरी कम्पनीसँग सम्झौता गरेको थियो । त्यसयता पटकपटक म्याद थप हुँदै आएको छ । मन्त्री पुनले कर्णाली प्रदेशको मुहार फेर्ने आयोजना भएकाले डिपिआरको काम तत्काल सकेर आयोजना निर्माण थाल्नुपर्नेमा जोड दिनुभयो ।

नलगाड आयोजना क्षेत्रीय ऊर्जा सन्तुलन कायम गर्न तथा कर्णालीको विकासमा कोसेढुङ्गा हुने मन्त्री पुनको भनाइ थियो । मन्त्री पुनले आयोजना निर्माणका लागि वैदेशिक लगानी जुटाउन सरकार प्रयासरत रहेको जानकारी पनि दिनुभयो । जापानी सहयोग नियोग (जाइका) ले नलगाडमा लगानीको इच्छा देखाएको भन्दै उहाँले विभिन्न चरणमा मन्त्रालय र जाइकाबीच लगानीबारे संवाद भइरहेको उल्लेख गर्नुभयो ।

यस्तै वन तथा वातावरणमन्त्री बस्नेतले जाजरकोट र समग्र कर्णालीको मुहार फेर्ने आयोजना निर्माणमा ढिलाइ हुन नहुने बताउनुभयो । सम्बन्धित क्षेत्रको प्रतिनिधिसभा सदस्यको हैसियतमा आफूले आयोजना निर्माणको काम अघि बढाउन सङ्घ, प्रदेश, स्थानीय तह र स्थानीय प्रभावित क्षेत्रका जनताबीच समन्वयको काम गर्ने उल्लेख गर्नुभयो ।

यस्तै कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले आयोजना निर्माणमा आवश्यक सबै प्रकारको समन्वय गर्न प्रदेश सरकार तयार रहेको प्रतिबद्धता जनाउनुभयो । छलफलमा कम्पनीका अध्यक्ष पन्तले परामर्शदातासँग समन्वय गरेर डिपिआरको काम तत्काल सक्ने जानकारी दिनुभयो ।

आयोजनाको नलगाड गाउँपालिका–७ दल्लीमा विद्युत्गृह र बारेकोट गाउँपालिका–८ अँधेरीखोलामा आयोजनाको बाँधस्थल छ । नलगाड नगरपालिकास्थित नलगाड खोला र ठूलीगढीको दोभान नजिकै भूमिगत विद्युत्गृह निर्माण हुनेछ । आयोजनाको कूल छ किलोमिटर लामो जलाशय र २१० मिटर अग्लो बाँध तथा ८.२ किलोमिटर लामो सुरुङ बन्नेछ । बाँधस्थलदेखि विद्युत्गृहसम्मको पहुँचमार्ग निर्माणको काम यसअघि नै सकिएको छ ।

यस्तै कूल चार हजार ६०५ रोपनी जमिनका लागि वितरण गरिनुपर्ने रु दुई अर्ब ७६ करोडमध्ये रु दुई अर्ब ५० करोड मुआब्जा वितरण सकिएको छ । यो कूल मुआब्जाको करिब ९० प्रतिशत हो । ठूलो भेरी नदीको शाखा नदीमा बन्ने आयोजना निर्माणका लागि रु एक अर्ब ४२ अर्ब लागत लाग्ने प्रारम्भिक अनुमान छ ।