१६ चैत्र २०८०, शुक्रबार

मुक्तिनाथ विकास बैंकलाई एक लाख युरोको युरोपियन माइक्रोफाइनान्स अवार्ड

muktinath bikas bank

लक्जमवर्गमा आयोजित ‘युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०’ बाट मुक्तिनाथ विकास बैंक पुरस्कृत भएको छ ।

बैंकले साना तथा लघु बैंकिङ कार्यक्रममा आबद्ध न्यून आय भएका सदस्यलाई प्रदान गरी रहेको नवीनतम र ग्राहकमैत्री समावेशी बचत सेवाको प्रभावकारिता र त्यसले सदस्यको जीवनमा पारेको सकारात्मक परिवर्तनलाई अन्तर्राष्ट्रिय स्वतन्त्र विशेषज्ञ छनोट समितिले अध्ययन तथा अनुसन्धान गरी सो पुरस्कार प्रदान गरेको बैंकका अध्यक्ष भरतराज ढकालले जाकारी दिनुभयो । भर्चुअल माध्यमबाट भएको सो प्रतियोगितामा ३७ राष्ट्रबाट ७० वटा संस्थाले सहभागिता जनाएका थिए ।

उक्त प्रतियोगिताको लागि उत्कृष्ट तीनमा नेपालबाट मुक्तिनाथ विकास बैंकलगायत वेनिन र इथियोपियाको एकएक लघुवित्त संस्था छनोट भएका थिए । सो पुरस्कारबापत मुक्तिनाथ विकास बैंकले नगद एक लाख युरो प्राप्त गरेको बैंकका प्रमुख सूचना अधिकारी तीलबहादुर गुरुङले जानकारी दिनुभयो । सो पुरस्कार रकमबाट न्यून आय भएका सदस्यलाई डिजिटल बैंकिङमा सहभागी गराउन विभिन्न कार्य गरिने जनाइएको छ । बैंकको ४२ जिल्लामा रहेका १३८ मध्ये ११८ वटा शाखामार्फत साना तथा लघु बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । साना तथा लघु बैंकिङअन्तर्गत एक लाख ८० हजारभन्दा बढी ग्राहक सदस्यले प्रत्यक्ष सेवा लिइरहका छन् भने यो क्षेत्रमा रु १७ अर्बभन्दा बढी लगानीमा रहेको जनाइएको छ ।