१६ चैत्र २०८०, शुक्रबार

भरतपुर अस्पतालको भर्‍याङमा झुण्डिएर बिरामी कुरुवाले गरे ‘आत्महत्या’

Bharatpur Hospital

भरतपुर अस्पतालको भर्‍याङमा एक पुरुषको शव झुण्डिएको अवस्थामा फेला परेको छ । अस्पतालको मेडिसिन विभाग नजिकको भर्‍याङमा झुण्डिएको अवस्थामा लम्जुङका विष्णु सुनारको शव फेला परेको हो ।

लमजुङको दूधपोखरी गाउँपालिका वडा नम्बर २ स्थायी ठेगाना भएका सुनारको घाँटीमा रुमाल जस्तो सलको पासो छ । गएराति करिब ८ बजे उनी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

तीन महिना अगाडि सुत्केरी भएकी श्रीमतीलाई मुटुको तल्लो भागमा पानी जमेपछि उपचार गराउन कात्तिक १७ गते सुनार भरतपुर अस्पताल आएका थिए । सासुसहित अस्पताल आएका उनले आत्महत्या गरेको चितवन प्रहरीको भनाइ छ । यद्यपि उनले आत्महत्या गर्नुको कारण खुलेको छैन ।

अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार उनको श्रीमतीको स्वास्थ्यमा सुधार हुँदै गएको थियो र शनिबार (आज) डिस्चार्ज गर्ने तयारी भइरहेको थियो ।

मृतककी सासुको भनाइ उल्लेख गर्दै सूचना अधिकारी पौडेलले श्रीमतीसँग विष्णुको सधैं झगडा पर्ने गरेको बताए । सासुले आत्महत्या आर्थिक कारणबाट नभएको जनाएको सूचना अधिकारी पौडेलको भनाइ छ । शव अस्पतालको शवगृहमा राखिएको छ ।