१५ चैत्र २०८०, बिहीबार

तीन वर्षीय बालकलाई ठक्कर दिएर मोटरसाइकलसहित फरार भएका दुई जना पक्राउ

arest

तीन वर्षीय बालकलाई ठक्कर दिएर मोटरसाइकलसहित फरार भएका दुई जनालाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले वीरेन्द्रनगर नगरपालिका–५ का जीवन चौहान र नवीन भनिने अमर सलामीलाई मोटरसाइकलसहित आज दिउँसो पक्राउ गरेको जनाएको छ । वीरेन्द्रनगर १ का तीन वर्षीय समीर नेपालीलाई मङ्गलबार जिल्ला प्रहरी कार्यालय अगाडिको सडकमा मोटरसाइकलले ठक्कर दिँदा उपचारका लागि अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको थियो । घटनाको एक दिन बितिसक्दा प्रहरीले दोषी पक्राउ गर्न नसकेको भन्दै बुधबारदेखि पीडित पक्षले कर्णाली राजमार्गको बाङ्गेसिमल खण्डमा सडक अवरुद्ध पारेका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले पक्राउ परेका दुई जनामाथि सोधपुछ भइरहेको बताउनुभयो । प्रहरीले घटनाको अनुसन्धानका लागि १६ वटा मोटरसाइकल नियन्त्रणमा लिएको थियो । तीमध्ये लु ६२ प ७००३ नम्बरको मोटरसाइकलका चालक सम्पर्कमा नआएपछि प्रहरीले खोजी कार्य तीव्र पारेको थियो । प्रहरी कार्यालयमा चालकका अभिभावकले उक्त मोटरसाइकल बुझाएका थिए ।