६ बैशाख २०८१, बिहीबार

नेपाल प्रहरीमा एआइजी र डिआइजीको दरबन्दी थप

police headqutar

नेपाल प्रहरीमा एक प्रहरी अतिरीक्त महानिरीक्षक (एआइजी)ं र पाँच प्रहरी नायब महानिरीक्षक (डिआइजी) को दरबन्दी थप भएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार प्रहरीमा एआइजी र डिआइजीको दरबन्दी थप गरेको गृह मन्त्रालयको प्रशासन महाशाखाका सहसचिव थानेश्वर गौतमले जानकारी दिनुभयो ।

सङ्घीय संरचनाअनुसार प्रहरी समायोजनमा सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणका लागि गृह सचिवको नेतृत्वमा बनेको समितिले तयार पारेको सङ्गठनात्मक स्वरुप निर्धारण प्रतिवेदन मन्त्रिपरिषद्बाट स्वीकृत गर्ने क्रममा दरबन्दी थप भएको गौतमले जानकारी दिनुभयो । सोही प्रतिवेदनको एक अङ्गको रुपमा दरबन्दी रहेको थियो ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै प्रहरी समायोजन र बढुवाको आवश्यक प्रक्रिया अघि बढ्ने जानकारी दिनुभयो । गत वर्ष नै प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण भइ कानूनको अङ्ग बनिसकेको छ ।

यद्यपि प्रहरी समायोजन प्रक्रिया शुरु हुन सकेको थिएन । प्रदेशमा प्रहरी समायोजन गर्दा प्रहरी उपरीक्षक र त्यसभन्दा माथिको प्रहरी कर्मचारी सङ्घअन्तरगत रहने कानूनी व्यवस्था छ ।

अब मेट्रोको नेतृत्व एआइजीले गर्ने

दरबन्दी थप भएसँगै महानगरीय प्रहरी कार्यालय (मेट्रोे प्रहरी) को नेतृत्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) ले गर्नुहुने छ । हाल यहाँ डिआइजी विश्वराज पोखरेलको नेतृत्व छ ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को नेतृत्व रहेको स्थान साइबर व्यूरो, प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान निर्देशनालय, कार्य निर्देशनालय, अन्वेषण योजना तथा विकास निर्देशनालयमा र प्रदेश समन्वय निर्देशनालयमा डिआइजीले नेतृत्व गर्ने प्रवक्ता कडायतले जानकारी दिनुभयो ।

हाल प्रहरीमा एक प्राविधिकसहित चार एआइजी र प्राविधिकबाहेक १४ डिआइजी छन् । थपिएको दरबन्दीसहित एआइजी पाँच र प्रशासनतर्फ डिआइजीको दरबन्दी १९ पुगेको छ । प्राविधिकतर्फ आठ डिआइजीको दरबन्दी छ । तीन डिआइजीको दरबन्दी अहिले पनि खाली छ । थपिएको एक एआइजी र खालीसहित आठ डिआइजीको बढुवा प्रक्रिया अब शुरु हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
­­­