८ बैशाख २०८१, शनिबार

नाका बन्द हुँदा ओलाङचुङगोलावासी समस्यामा

Olangchung Gola

कोभिड–१९का कारण चीनको तिब्बत सँगको सीमानाका टिपताला भञ्ज्याङबाट ओहोरदोहोर बन्द भएपछि ओलाङचुङगोलावासी समस्यामा छन् ।

चीनमा सङ्क्रमण फैलिएयता नाका हुँदै आउजाउ पूर्णरुपमा बन्द छ । खाद्यान्नलगायतका उपभोग्य वस्तुको किनमेलका लागि तिब्बतका बजारको भरमा रहेका यहाँका बासिन्दा लामो समयदेखि तिब्बत पुग्न पाएका छैनन् ।

जेठदेखि भदौसम्म वर्षभर पुग्ने खाद्यान्नलगायतका सामग्री तिब्बतकै बजारबाट ढुवानी गर्ने गोलावासीले यो वर्ष महंगो भाडा तिरेर ताप्लेजुङ तर्फकै बजारबाट ढुवानी गर्न बाध्य छन् । मानिसलाई चाहिने सामाग्रीदेखि लिएर पशु चौपायाका लागि ढिके नुन र दानासमेत चीनबाटै ल्याउने गरिएको छ ।

हिमाली एक्लो बस्ती ओलाङचुङगोलाका बासिन्दालाई ताप्लेजुङको बजारबाट भन्दा चीनको तिब्बतबाट सामान ढुवानी गर्न सहज हुन्छ । ताप्लेजुङका बजार भन्दा नाका नजिकपर्ने र ढुवानीसमेत सस्तो हुने भएकाले उतैबाट आवश्यक सामानको जोहो गर्ने गरिएको वडाध्यक्ष छेतेन शेर्पाले बताउनुभयो । यो वर्ष सङ्क्रमणका कारण तिब्बत आउजाउ नहुँदा समस्या भएको उहाँको भनाइ छ ।

नाका बन्द हुँदा ओलाङचुङगोलामा बुनिएका गलैँचासमेत घरैमा थन्किएका छन् । यहाँ उत्पादित गलैँचाको मूख्य बजार तिब्बत नै हो । यो वर्ष आउजाउ नहुँदा यहाँका बासिन्दाले बनेका गलैँचा घरैमा थन्किएका छन् ।

    सम्बन्धित समाचार...