१३ बैशाख २०८१, बिहीबार

नारायणगढ–बुटवल विस्तार आयोजना समयमै सकाउन निर्देशन

basanta nembang

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले पूर्वपश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल सडक विस्तार आयोजना समयमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

मन्त्रालयमा आज भएको सरोकार निकायका प्रतिनिधि सम्मिलित छलफलमा उहाँले कार्ययोजना बनाएर अघि बढ्न आग्रह गर्नुभयो ।

उहाँले देशकै महत्वपूर्ण सो सडक विस्तारका लागि सम्बन्धित निर्माण कम्पनी र परामर्शदातासँग बसी कार्ययोजना बनाएर अघि बढ्न आयोजना कार्यालयलाई निर्देशन दिनुभयो । जम्मा ११३ किमी लम्बाइको सडक दुई खण्डमा निर्माण गर्न लागिएको छ । सो सडक एशियाली विकास बैङ्क –एडिबी) को सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण हुन लागेको छ । सडक निर्माणको काम चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले गरिरहेको छ ।

कोभिड–१९ सङ्क्रमणका कारण दुई सातासम्म आइसोलेशनमा पुल्चोकस्थित मन्त्री निवासमा बस्नुभएका मन्त्री नेम्वाङ सोमबार रिपोर्ट नेगेटिभ आएसँगै आजदेखि मन्त्रालय आउन थाल्नुभएको छ । छलफलमा मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ, एडिबीका आयोजना निर्देशक दीपक श्रेष्ठ, सडक विभागका महानिर्देशक केशवकुमार शर्मा, सहसचिव गोपाल सिग्देललगायतको उपस्थिति थियो ।