१५ चैत्र २०८०, बिहीबार

परीक्षण सफलपछि खोप आयातका लागि अध्यादेश ल्याइन्छ : मन्त्री ढकाल

bhanu bhakta dhakal scaled

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोभिड–१९ खोप परीक्षण सफल हुनसाथ नेपालमा आयातका लागि कानूनी समस्या नहोस् भनेर अध्यादेश तयार गरिएको जानकारी दिनुभएको छ । उहाँले कोरोना सङ्क्रमितको उपचारमा सघाउन सरकारले भौतिक संरचना तयारीलाई पनि ध्यान दिएको जनाउनुभयो ।

प्रदेश नं १ को सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको सक्रियतामा निर्माण भइरहेको ‘नागरिक केयर सेन्टर’को आज अनुगमनका क्रममा मन्त्री ढकालले कोरोना सङ्क्रमितको उपचारका लागि एचडियु र अक्सिजनसहितको एक सय शै्ययाको नागरिक सेन्टरको निर्माण कार्य गरिएकोमा प्रशंसा पनि गर्नुभयो । उहाँले उपचारका लागि अक्सिजन, आईसियु र भेन्टिलेटरको आवश्यकता देखिएकाले त्यसलाई प्राथमिकता राखिएको बताउनुभयो ।

मन्त्री ढकालले सरकारले सुविधासम्पन्न तीन हजार ५०० सय शै्यया थप गर्ने तयारी गरेको जानकारी दिँदै दुुई हजार काठमाडौँ उपत्यका र बाँकी देशका विभिन्न स्थानमा स्थापना गरिने बताउनुभयो ।

प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे, राज्यमन्त्री जसमाया गजमेर र सेन्टरका संयोजक पवन सारडालगायतले प्रदेश सरकारको रु २ करोड, निजी क्षेत्रको रु १ करोड ५० लाख र महानगरपालिकाको रु २५ लाखको लागतमा निर्माण कार्य भइरहेको जानकारी दिनुभयो । मन्त्री ढकालले आजै कोशी अस्पताल विराटनगरको पनि अनुगमन गर्नुभएको थियो ।

स्वास्थ्योपचारका लागि टेलिमेडिसिन

प्रदेश नं १ र भारतीय सीमावर्ती क्षेत्रका जनतालाई विराटनगर रहेको अस्पतालमा सहज स्वास्थ्य सेवा उपलव्ध गराउन क्यूरा हेल्थ एप्लिकेशनमार्फत आजदेखि टेलिमेडिसिन सेवा शुरु गरिएको छ ।

आधुनिक प्रविधिको प्रयोग गरी क्यूरा हेल्थको मोबाइल एप्लिकेसनमार्फत स्वास्थ्यसम्बन्धी सम्पूर्ण कार्य गर्न सकिने हेल्थका सञ्चालक आयुस भगतले जानकारी दिनु भयो । क्युरा हेल्थको प्रयोग गरी आफूले खोजेको अस्पताल, चिकित्सक, समय र शुल्क आदिबारे घरमै बसेर तय गर्न सकिने छ ।

उक्त सेवा अहिले विराटनगरस्थित विराट अस्पताल, लाइफगार्ड अस्पताल र श्री राम डेन्टल क्लिनिकसँग सहकार्य गरी शुरु गरिएको तथा आगामी दिनमा सरकारी लगायत अन्य थप अस्पतालसँग आवद्ध हुने जनाइएको छ ।