७ बैशाख २०८१, शुक्रबार

विश्वभरका विश्वविद्यालयका एकीकृत सूचनाको पोर्टल सञ्चालनमा

university

स्वदेश र विदेशका विद्यार्थीलाई एकीकृत सूचना दिने उद्देश्यले नेपालीको पहलमा पहिलोपटक ‘स्टडीइन्फो सेन्टर डटकम’(www.studyinfocentre.com) सञ्चालनमा आएको छ । स्वदेश र विदेशका विश्वविद्यालयमा पढ्न चाहने विद्यार्थीका लागि तुलनात्मक अध्ययनको मञ्चका रुपमा यो पोर्टल सञ्चालित भएको हो ।

हाल अष्ट्रेलयमा रहेका शिक्षाकर्मीद्वारा सञ्चालत सो वेबसाइटको आज त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले भर्चुअलरुपमा शुभारम्भ गर्नुभयो । सो पोर्टलमा विश्वभरका विश्वविद्यालय र त्यहाँ अध्ययन हुने विषयबारे एकीकृत सूचना प्राप्त हुनेछ ।

आफूलाई उपयुक्त कलेज खोज्न, ती कलेजहरु बीच तुलना गर्न, कलेजसँग सम्पर्क गर्न र आफूले छनौट गरेको कलेजमा भर्ना आवेदन दिन यो पोर्टल उपयोगी हुने विश्वास लिइएको छ । साथै, यसमा विद्यार्थी तथा अभिभावकलाई लक्षित गरेर विद्यार्थीले यस पोर्टलमा संलग्न विज्ञहरुसँग प्रत्यक्ष संवाद गर्न सक्ने सुविधा पनि यसमा उपलब्ध रहेको छ । यस्तो प्रकृतिको यो नेपाल कै पहिलो वेव पोर्टल भएको जानकारी स्टडी इन्फो सेन्टरले दिएको छ । 

यसमा नेपालका सबै विश्वविद्यालयका ६०० विषयसमेत समावेश गरिएको पोर्टलका संस्थापक टीएन अर्यालले जानकारी दिनुभयो । एक वर्ष लगाएर २० जना जनशक्तिले तयार गरेको यस प्रकारको पहिलो पोर्टलमा विद्यार्थीले उच्चशिक्षा हासिल गर्न चाहेको देशका प्रवेशाज्ञा नीति, उक्त देशमा हुने अध्ययन तथा बसोबास खर्च र विद्यार्थीका लागि रोजगारीका अवसरलगायतका महत्वपूर्ण जानकारी समावेश छ ।

विद्यार्थीलाई सुचनामा सुलभ पहुच पुर्याउने उद्येश्यका साथ स्थापित यो संस्थाले यस्तै प्रकारका विभिन्न सूचना प्रदायक अन्य पोर्टलहरु पनि संचालनमा ल्याउन लागिएको हुँदा सवै पक्षको सुझाव र हौसलाको अपेक्षा गरिएको जानकारी कार्यक्रममा आयोजकहरुले दिएका थिए । 

शिक्षाविद् माथेमाले विद्यार्थीले राम्रा प्राध्यापक, विश्वविद्यालयको वातावरण र शुल्कसमेत बुझेर भर्ना गर्ने भएकाले उनीहरुलाई एकीकृत र सही सूचना दिनु आवश्यक रहेको बताउनुभयो । उहाँले नेपालको शिक्षाका राम्रा पक्षलाई पनि अन्तर्राष्ट्रियकरण गराउन आग्रह गर्नुभयो ।

पोखरा विश्वविद्यालयका उपकुलपति प्रा डा प्रेमनारायण अर्यालले विश्वविद्यालयबीचको सहकार्य र सूचना आदान प्रदानमा वेबसाइट नयाँ पहल हुने विश्वास व्यक्त गर्नुभयो । त्रिविका पूर्वउपकुलपतिहरु डा कमलकृष्ण जोशी र त्रिविका पूर्वउपकुलपति प्रा डा तीर्थराज खनियाँले उच्चशिक्षाका क्षेत्रमा सूचनाको पहुँच वृद्धिका लागि नयाँ काम थालनी भएकामा शुभेच्छ व्यक्त गर्नुभयो ।

उच्चमाध्यमिक तथा शिक्षालय सङ्घ (हिसान) का अध्यक्ष रमेश सिलवालले नेपाली विद्यार्थीलाई विदेश पढ्न पठाउनेका साथै विदेशी विद्यार्थी नेपाली विश्वविद्यालयमा पनि ल्याउने गरी काम गर्नुपर्ने बताउनुभयो । गैह्रआवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय समितिका उपाध्यक्ष मन केसीले कोभिड–१९ पछि बेरोजगारीको स्थितिमा विद्यार्थी र रोजगारी खोजिरहेका युवाका लागि नयाँ पोर्टल उपयुक्त हुने बताउनुभयो ।