१५ चैत्र २०८०, बिहीबार

कालपोखरीमा सशस्त्र प्रहरीको बिओपी स्थापना

APF BOP kalpokhari

इलामको नेपाल भारत सीमा क्षेत्र सन्दकपुर गाउँपालिका–४ कालपोखरीमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ । पर्यटकीय क्षेत्र कालपोखरी आसपासका क्षेत्रमा सीमा सुरक्षा दिनाका साथै अवैध गतिविधि नियन्त्रण गर्ने उद्देश्यले बिओपी स्थापना गरिएको जनाइएको छ ।

सशस्त्र प्रहरी बल नम्बर १ बराह बाहिनीका सहायक बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कमल गिरी र प्रदेशसभा सदस्य खिनुलङ्वा लिम्बूले संयुक्त रुपमा जिल्लाको तेस्रो बिओपी उद्घाटन गर्नुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य लिम्बूले सीमा क्षेत्रका जनताले विगतमा भोग्दै आएको सुरक्षा चुनौती अन्त्य भएको बताउनुभयो ।

सप्रवउ गिरीले स्थानीय समुदायको मन जित्ने गरी काम गर्न आफू मातहतका प्रहरीलाई निर्देशन दिनुभयो । उहाँले नेपाल सरकारले सीमा क्षेत्रमा बस्ने नागरिकको सुरक्षाका निम्ति हालसम्म १८३ स्थानमा बिओपी स्थापना भएको जानकारी दिँदै सरकारले लक्ष्य लिएको २२१ ठाउँमै केही समयभित्र बिओपी स्थापना हुने बताउनुभयो ।

सन्दकपुर गाउँपालिका अध्यक्ष उदय राईले स्थानीय बासिन्दाले मात्र नभई बिओपी स्थापनापछि पर्यटकले समेत सुरक्षित भएको महसुस गर्न पाउने बताउनुभयो । माईजोगमाई गाउँपालिकाका अध्यक्ष जीतबहादुर राईले अहिले सीमा क्षेत्रका बासिन्दा र बाह्य पयर्टकले पनि शान्ति र अमनचयनको महसुस गरेको बताउनुभयो ।

भारततर्फ सीमा क्षेत्रमा प्रत्येक तीनतीन किलोमिटरमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को क्याम्प स्थापना गरिए पनि नेपालतर्फको सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मीको उपस्थिति नहुँदा नेपाली भूमि अतिक्रमण बढ्नाका साथै वन्यजन्तुको समेत चोरी निकासी हुँदै आएको थियो । कालपोखरी क्षेत्रका बासिन्दा र पर्यटक बारम्बार एसएसबीको हेपाइ सहन बाध्य थिए ।

रोङ गाउँपालिकाको तिरिङदेखि सन्दकपुर गाउँपालिकाको सन्दकपुर डाँडासम्मको ५२ दशमलब ५ किलोमिटर क्षेत्रमा बिओपी छ । ती क्षेत्रमा रहने ६ बिओपीमध्ये सलकपुर, समालबुङ र छब्बीसेमा यसअघि नै स्थापना भएका छन् । मंसिर महिनाभित्रै जौवारीर मानेभञ्ज्याङमा समेत बिओपी उद्घाटन गरिने सशस्त्र प्रहरी उपरीक्षक सुधीरजंग थापाले बताउनुभयो ।