१६ चैत्र २०८०, शुक्रबार

भारत पठाइए आत्महत्या गर्छु

nirav modi

लण्डन प्रहरीको नियन्त्रणमा रहेका हिरा कारोबारी एवम् भारतको बैंक घोटाला प्रकरणका एक मुख्य अभियुक्त नीरब मोदीले आफूलाई भारत पठाइए आत्महत्या गर्ने बताएका छन् ।

मंगलबार अदालतमा उपस्थित गराइएका मोदीले भारतमा निष्पक्ष जाँच हुने विश्वास आफूलाई नभएको भन्दै यदि भारत पठाइए आत्महत्या गर्ने बताएका हुन् ।

भारतले नीरबलाई सुपुर्दगी गर्न बेलायत सरकारसँग माग गर्दै आएको छ ।

निरबले ४० लाख पाउण्ड रकम धरौटी तिरेर आफूलाई रिहा गर्न तथा निगरानीमा मात्रै राखी कारवाही अघि बढाउन अदालतमा पेश गरेको रिट निवेदन भने अदालतले अस्वीकार गरिदियो।

चौथो पटक उनले दायर गरेको रिट निवेदन खारेज भाएपनि उनले अदालत समक्ष आफूलाई भारत सुपुर्दगी गरिएमा आत्महत्या गर्ने चेतावनी दिए।

आफूलाई जमानतमा रिहाइको माग गर्दै आएका नीरबलाई मंगलबार अदालतमा उपस्थित गराइएको थियो । टाइम्स अफ इण्डियाका अनुसार बेलायती अदालतमा उनले भारतीय जेलप्रति भरोसा नभएको भन्दै भारतको जेलमा बस्दा तीन पटक पिटाई खाइसकेको समेत दावी गरे। जेलमै रहेका दुई जना कैदी उनी भएको ठाउँमा आएको र ढोका थुनेर कुटपिट गरेको मोदीको भनाइ छ । उनले अदालतमै धम्की दिए -‘मेरो सुपुर्दगी गरिए म आत्महत्या गर्छु।’

यद्यपि यी सब दलील पेश गरे पनि अदालतमा कुनै असर नदेखिएको र उनको जमानतमा रिहाइको माग खारेज भएको समाचारमा उल्लेख छ । यो समेत गरी चार पटकसम्म उनको जमानतमा रिहाइको माग अदालतले खारेज गरिसकेको छ ।

नीरब मोदी सात महिनादेखि लण्डनको वाड्सवर्थ जेलमा छन् । उनी भागेर लण्डन पुगेको बेला सात महिना अगाडि होल्बोर्न इलाकाबाट पक्राउ परेका थिए ।

उनी भारतमा सन् २०१८ मा भएको पन्जाब नेशनल बैंक घोटाला प्रकरणका मुख्य अभियुक्त हुन् । बैंकबाट करिब १३ हजार करोड भारु घोटाला भएको थियो, यसलाई भारतको सबैभन्दा ठूलो बैंक घोटाला मानिन्छ । उनी सन् २०१० मा स्थापना गरिएको नीरब मोदी ग्लोबल डायमण्ड ज्वेलरी हाउसको संस्थापकसमेत हुन् ।

    सम्बन्धित समाचार...