१३ बैशाख २०८१, बिहीबार

समयमा काम नगर्ने ठेकेदारलाई कारबाही गरिने

Division road office

डिभिजन सडक कार्यालय काठमाडौँले समयमा काम नसक्ने रुग्ण ठेक्काका अवस्था बुझेर ठेकेदारलाई कारबाहीको प्रक्रिया शुरु गरेको छ ।

डिभिजनअन्तर्गत विभिन्न कारणले समयमा सम्पन्न नभएका ३२ ठेक्का रहेका छन् । ती ठेक्कामा संलग्न निर्माण कम्पनीसँग सम्पर्क गरेर ढिलाइको बारेमा बुझ्न थालिएको डिभिजन प्रमुख कुवेर नेपालीले बताउनुभयो । उहाँका अनुसार तीमध्ये धेरै व्यवसायी सम्पर्कमा समेत आइरहेका छन् ।

सम्पर्कमा नआएका कम्पनीसँग सम्पर्कको प्रयास गरिएको उहाँले बताउनुभयो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत वर्ष निर्णय गरेर रुग्ण ठेक्काको अवधि एक वर्ष थप गरेको थियो । उहाँले भन्नुभयो, “यो महिना भित्रमा कुनकुन ठेक्कामा समस्या के हो भनेर बुझिनेछ । त्यसपछि अर्काे प्रक्रियामा जान्छ ।”

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि काम नगर्ने निर्माण कम्पनीलाई कारबाहीको दायरामा ल्याउन मातहतका निकायलाई निर्देशन दिनुभएको थियो । केही महिना पहिले डिभिजन सडक कार्यालय लहान र हेटौँडाले काम नगर्ने निर्माण कम्पनीलाई कालोसूचिमा राखेको थियो ।

    सम्बन्धित समाचार...