७ बैशाख २०८१, शुक्रबार

निजी क्षेत्रको मनोबल बढाउँछौं : अर्थमन्त्री

bisnu poudel

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले निजी क्षेत्रको मनोबल र आत्मविश्वास बढाएर काम गर्ने बताउनु भएको छ ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठलगायतको प्रतिनिधिमण्डलसँगको भेटमा अर्थमन्त्री पौडेलले निजी क्षेत्रलाई सहयोग र प्रोत्साहन गरेर कोभिड–१९ले पारेको प्रतिकूलता न्यूनीकरण गर्दै अर्थतन्त्रको पुनः उत्थान गर्न सकिने बताउनुभयो । उहाँले त्यसका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

अर्थमन्त्री पौडेलले प्रतिकूलावस्थामा स्वास्थ्य सुरक्षाका सबै मापदण्डलाई विशेष ध्यान दिएर व्यापार, व्यवसाय र उद्योग चलाई अर्थतन्त्रलाई चलायमान बनाउन आग्रह गर्नुभएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । उहाँले बजेटमा उल्लेख गरिएका राहत र पुनरुत्थानका कार्यक्रमलाई सबैको साथ लिएर कार्यान्वयन गरिने पनि बताउनुभयो ।अर्थमन्त्री पौडेलले सरकारले निजी क्षेत्रका समस्या र कठिनाइलाई बुझ्ने र निजी क्षेत्रले सरकारको सीमा र भूमिकालाई बुझेर अघि बढ्दा धेरै समस्या समाधान सकिने धारणा व्यक्त गर्नुभयो ।

चेम्बरका अध्यक्ष श्रेष्ठले क्रयशक्ति बढाई आर्थिक क्षेत्रलाई चलायमान बनाउन तथा व्यापार र उद्योग क्षेत्रलाई सहज रुपमा सञ्चालन गर्ने वातावरण तयार पार्न आग्रह गर्नुभयो । चेम्बरले अर्थमन्त्रीलाई २२ बुँदे सुझावसमेत दिएको छ ।