१५ चैत्र २०८०, बिहीबार

लेलेका महिलालाई तिहार खर्च धान्नै मुस्किल

unnamed 4

लेलेका महिलालाई यसवर्ष तिहार खर्च धान्नै मुस्किल परेको छ । लेले डिगाउँकी सरस्वती सिलवालको घरआँगनमा यस वर्ष केही बोटमात्र सयपत्री फुलेका देखिन्छन् । विगतका वर्ष खेतबारीमा सयपत्री रोपेर व्यापार गर्ने सरस्वतीले यस वर्ष भने त्यो मिहिनेत ठ्याक्कै मार्नुभएको छ । पहिला पहिलाका तिहारमा खुब हर्षले विभिन्न प्रकारका फूलहरु उत्पादन गर्ने, माला बनाएर बजार बिक्रीवितरणका लागि लाने गरेको सरस्वतीको भनाइ छ । “यो वर्ष कोरोना महामारीको त्रासले कसरी फूलमाला व्यापार गर्ने भन्ने चिन्तासँगै केही रोप्न मन लागेन ।”

सरस्वतीले विगतको तिहारमा एक झुप्पामा पाँचवटा माला बनाएर सानो मालाको रु २५० र ठूलोको रु ४५० माथि बेच्ने गरेको सुनाउनुभयो । गत वर्ष सयपत्रीको मालाबाट रु २५ हजार कमाएर भाइमसलालगायत आवश्यक सरदम जुटाएको हुँदा यस तिहारमा कसरी खर्च गर्ने भन्ने सरस्वतीमा चिन्ता बढेको छ । यसैगरी लेले काभ्रेकी मसिनी पौडेल पनि यस वर्ष तरकारीलगायत फलफूल र सयपत्री फूल उत्पादनमा पछि हट्नुभएको देखिन्छ । विगत वर्ष लेले भञ्ज्याङ हुँदै डोकाका डोका फूलमाला, तरकारी र अनि फलफूल लगेर बिक्रीवितरण गर्ने मसिनीको खेतबारीमा यस वर्ष आएको कोभिडका कारण बाँझोमात्र देख्न सकिन्छ । महामारी बढ्दो छ । कहाँ लगेर बेच्ने भन्ने त्रासका कारण आफ्नो घर सजाउन र कहिलेकाँही खान बाहेकका सामग्री उत्पादनमा ध्यान दिइएन ।

तरकारी र सयपत्री फूल उत्पादन गर्न त्यसै सजिलो छैन । समयसमयमा गोडमेल, पानी आदि गर्नुपर्छ । कोरोना बढेको समयमा घरबाट बाहिर टोलमा निस्किनसमेत डर रहँदा तिहार मान्न मुस्किल हुने भएको मसिनीको उत्तर छ । “गत वर्ष सानासाना फूलका गुच्छा बनाएर रु १० हजार फूलबाट मात्र कमाएको थिए । यस वर्ष न बारीमा फूल लगाइयो न दैनिक खान तरकारी नै उत्पादन भयो”, उहाँले थप्नुभयो ।

त्यसैगरी लेलेकी सावित्री पौडेलको बारीमा पनि यस तिहारमा बजार लान केही वस्तु रोपिएका छैनन् । कोरोना आयो । बेच्न जान पाइँदैन भनेर आफूले यस वर्ष केही लगाउन पनि मिहिनेत नगरेको सावित्रीको भनाइ छ । अघिल्लो वर्ष सयपत्री माला बेचेर मात्रै तिहारमा रु २५ हजार कमाएको सावित्रीले बताउनुभयो । “यसअघिको तिहारमा माला बेचेर आवश्यक सरसामनलगायत देउसी र भैलो खेल्न आउने समेतलाई पैसा दिन अरूसँग हात थाप्नु परेको थिएन । यो वर्ष न कुनै काम भयो न तिहारको उत्साह नै छाएको छ ।”

ललितपुरको लेले सयपत्री फूललगायत विभिन्न प्रकारका तरकारी र फलफूल उत्पादनका लागि प्रसिद्ध शहर थियो । यो क्षेत्रका जनताले यस वर्ष केही मात्रामा घरायसी प्रयोजनका लागि मात्र यी वस्तु उत्पादन गरेको बताए । भौगोलिक हिसाबले डाँडाकाँडा अनि फाँटले भरिएको लेले शहरस्थित काभ्रेका केही फाँटमा मात्रै यस वर्षको तिहारलाई सयपत्री फूल रोपिएका छन् भने अन्य स्थानमा खासै फूल उत्पादन गरिएको देखिएन । विगतका वर्ष तिहारमा लेलेबाट गाडीका गाडी सयपत्रीको फूलमालालगायत फलफूल अनि तरकारी बजार जान्थे । यो वर्ष १० प्रतिशत लेलेको फाँटमा सयपत्री फूल अनि तरकारीसमेत देख्न मुस्किल भएको स्थानीयवासी राजेन्द्र पौडेलको भनाइ छ ।

गत वर्ष तिहारमा फूलमाला व्यापार गरेर लेलेवासीले लगभग रु ३० देखि ४० लाख भित्र्याएका वडाध्यक्ष मिलन सिलवालले बताउनुभयो । यस वर्ष व्यापार गर्ने माहोल नरहँदा धेरै दाजुभाइ तथा दिदीबहिनीले फूल उत्पादनमा जोड दिनुभएन । केही किसानको बारीमा यस तिहारलाई लक्षित गरेर व्यावसायिक रुपमा रोपिएका सयपत्रीसमेत कसरी व्यापार गराउने भन्ने आफूलाई चिन्ता भइरहेको सिलवालको भनाइ छ ।

गोदावरी नगरपालिका–५ र ६ लेले क्षेत्र पर्छ । यो ललितपुर क्षेत्रको सयपत्री फूल उत्पादन हुने मुख्य थलो मानिन्थ्यो । गत वर्षमा लेलेको सयपत्री फूलले चापागाउँ, लगनखेल, जावलाखेल, असनइन्द्रचोक, विशालबजार, दरबारमार्ग, पशुपति अनि गौशाला र चाबहिल क्षेत्रमा खुब भरिभराउ हुन्थे । यो तिहारमा लेल मात्रै होइन । बडिखेल, गोदावरी, चापागाउँ, झरुवारासी, गोदामचौर र विशङ्खुलगायत क्षेत्रमा कम सयपत्री फूल उत्पादन गरिएको देखिन्छ ।

तिहार हिन्दू धर्मावलम्बीहरुको दशैँपछिको ठूलो पर्व हो । यस पर्वमा फूल र फलफूलको ठूलो महत्व रहन्छ । तिहारमा घरघरलगायत कार्यालय, चोक, बजार अनि धार्मिक क्षेत्र दीपावली गरेसँगै फूलमालाले सजाउने पनि गरिन्छ । यस वर्ष कोभिड महामारीका कारण हरेक मानिसले आ–आफ्ना घरबाहेक अन्य स्थानमा आर्थिकका साथै अन्य विभिन्न समस्याका कारण विगत वर्षझै मनाउन सम्भव नरहेको देखिन्छ ।

    सम्बन्धित समाचार...