४ बैशाख २०८१, मंगलवार

चाडपर्वमय बन्दै मिथिला

janaki mandir janakpurdham

दीपावली र छठ पर्व नजिकिएसँगै महोत्तरीसहित मिथिला क्षेत्र उमङ्गित छ । कृष्णपक्षमा मनाइने उज्यालोको पर्व दीपावलीको तयारीमा प्रदेश नं २ मा पर्ने सम्पूर्ण मिथिला क्षेत्र अहिले पर्वमय बनेको हो ।

दीपावली पर्वको पक्ष (कात्तिक कृष्णपक्ष) शुरु भएसँगै मिथिला क्षेत्रका सबैजसो घर रङ्गरोगन गरेर चम्क्याइँदा छन् । के धनी, के गरिब सबै आफ्नो सावगासअनुसार रमाइलो पर्व दीपावलीको तयारीमा जुटेका देखिदो छ ।

मिथिलामा कात्तिक कृष्णपक्षको त्रयोदशीदेखि दीपावली पर्व शुरु हुन्छ । धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरिने यस पर्वको पहिलो दिन ‘धनतेरस’ मनाउने मैथिल परम्परा छ । यस दिन धातुका नयाँ सामान जोडेर सन्ध्याकालमा लक्ष्मीको आराधना गरिन्छ । कात्तिक कृष्ण त्रयोदशीका दिनदेखि कात्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाइने यो पर्वलाई ‘यमपञ्चक’ पनि भनिन्छ । यमपञ्चकका पाँच दिनमध्ये धनतेरस, लक्ष्मीपूजा, गाईपूजा र भैयादूज मैथिल परम्परामा विशेष मानिन्छन् । पर्वको तेश्रो दिन कात्तिक औंंशीको साँझ घरको चौदिशा दीपमालिका गर्दै लक्ष्मी स्थापना गरेर पूजाआराधना गरिन्छ ।

मिष्टान्न परिकार खाने ख्वाइने यो पर्वको चौथो दिन गाई÷गोरुलाई रङ्गाउने, सिङ् र खुरमा तोरीको तेल लगाइ दिने, नयाँ रङ्गिन दाम्ला फेर्ने र रुचीकर खानेकुरा दिने मैथिल चलन छ । पौराणिक कथानक पाताललोकका राजा वलिको सन्दर्भ जोडिने यो पर्वमा कात्तिक शुक्ल द्वितीयाका ‘भैयादूज’ पर्व मनाउने मैथिल परम्परा छ । राजा वलिलाई बहिनीहरु गङ्गा र यमुनाले मङ्गल कामनाका साथ सप्तरङ्गी टिका र माला लगाइ दिएको सम्झनामा यो पर्वको परम्परा चलेको मैथिल जनबिश्वास छ । पर्वको पहिलो दिन कागतिहार र दोश्रो दिन कुकुर पूजा गरिने पर्वते मूलको हिन्दू परम्पराभने मिथिलामा देखिदैन् । यद्यपि मैथिल ‘यमपञ्चक’ पर्व विधिमा पनि कागपूजा र स्वानःपूजा (कुकुरपूजा) को वर्णन भने रहेको मैथिल परम्परा र कर्मकाण्डका ज्ञाता बर्दिबास–२ का महेशकुमार झा बताउनुहुन्छ ।

दीपावली पर्वसँगै अहिले घरको रङ्गरोगन गर्ने सामग्री, पूजाअर्चनाका लागि प्रयोग गरिने बाँसको चोयाले बुनिने र माटाका भाँडाको जताततै छुट्टै बजार जमेको देखिदैछ । खासमा दीपमालिकाका लागि माटाका दियौरी प्रयोग गरिने मैथिल परम्पराले यस्तो सामग्री बनाउने कुम्हाल जाति समुदाय अहिले ब्यस्त देखिदा छन् ।

यमपञ्चक सकिनासाथ लगत्तै दुई दिनपछि शुरु हुने छठ र छठसँगै शुरु हुने सामाचकेवा पर्वको रमझम र तयारी पनि मिथिलामा अहिलेदेखि नै बढेको छ ।