६ बैशाख २०८१, बिहीबार

हेटौंडाको शहीद स्मारकमा आदिवासी जनजातिको संग्रहालय स्थापना गरिने

sahid smarak hetauda scaled

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ नवलपुरस्थित शहीद स्मारक परिसरमा आदिवासी जनजातिको संग्रहालय स्थापना गरिने भएको छ । अहिले संग्रहालय भवनको निर्माण अन्तिम चरणमा पुगेको छ ।

मकवानपुरका आठ गाउँपालिका, एक नगरपालिका र एक उपमहानगरपालिका क्षेत्रमा बसोबास गरेका आदिवासी जनजातिको वेशभूषा, रीतिरिवाज, धर्म संस्कृतिका झलक तथा उनीहरुले प्रयोगमा ल्याएका भाँडावर्तन र औजार संग्रहालयमा राखिने शहीद स्मारक विकास समितिका उपाध्यक्ष रामेश्वर रानाले जानकारी दिनुभयो ।

स्मारक परिसरमा शहीद अध्ययन अनुसन्धान केन्द्र स्थापना गरी शहीदको जीवनी र तिनले प्रजातान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानबारेका सामग्री पनि राखिने छ । शहिद स्मारकमा एउटै ठूलो ढुङ्गामा कँुदिएको १२ शहीदको आकृति र छुट्टै चिडियाघर पनि स्थापना गरिएको छ । स्मारकको उत्तररित प्रजातान्त्रिक तथा वामपन्थी आन्दोलनका नेता बिपी कोइराला, गणेशमान सिंह, पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीको शालिक स्थापना गरिएको छ ।

स्मारकमा अहिले झोलुंगेपुल, थाहा स्तम्भ, बुद्ध प्रतिमा, मनमोहन उद्यान, पौडी पोखरी, वनभोजस्थल लगायत एक सिङ्गे गैँडाको प्रतिमा स्थापना गरी बाह्य र आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको समितिका कार्यालय प्रमुख रामचन्द्र न्यौपानेले बताउनुभयो । स्मारकमा भारतका विभिन्न शहर तथा भुटान, श्रीलंका, पाकिस्तान, माल्दिभ्सलगायत देशका पर्यटक पनि अवलोकनका लागि आउने गरेका छन् ।

बन्दाबन्दी र निषेधाज्ञाका कारण स्मारकमा बाह्य एवम् आन्तरिक पर्यटक आउन नपाउँदा अहिले समितिलाई आर्थिक संकट उत्पन्न भएको छ । त्यहाँ कार्यरत प्रशासनिक एवम् अन्य मजदूर, कर्मचारीलाई बडादशैँका अवसरमा पनि तलबभत्ता बाँड्न कठिनाइ उत्पन्न भएकाले अन्य स्रोतबाट रु ३० लाख ऋण लिई वितरण गरिएको न्यौपानेले राससलाई जानकारी दिनुभयो ।

समितिका अनुसार अघिल्लो आर्थिक वर्ष २०७५/०७६ मा बाह्य र आन्तरिक पर्यटक गरी चार लाख १० हजार पर्यटकले स्मारकको अवलोकन गरेको र त्यसबाट रु एक करोड २५ लाख आम्दानी गरिएको छ । समितिलाई अझ प्रभावकारी रुपमा सञ्चालनमा ल्याउन परिसरभित्र आन्तरिक पर्यटन सूचना केन्द्र, तालीम कक्ष, अतिथि भवन आदि निर्माण गर्ने सोच पनि छ ।

सहिद स्मारक परिसरबाट उत्तरतर्फ रहेको पुण्य क्षेत्रको शक्तिपीठमा जान करीब दुई किलोमिटर सडक निर्माणका लागि प्रदेश सरकार, भौतिक पूर्वाधार मन्त्रालय र उपमहानगरपालिकालाई समितिका तर्फबाट पत्राचार गरिको छ । स्मारक भित्र हरियाली वातावरणलाई अझ संरक्षण गरी जिल्लाका अन्य क्षेत्रमा रहेका पर्यटन स्थानको व्यवस्थापन गरी बाह्य पर्यटक भित्र्याउन थानाभयार्‍याङदेखि भैरव डाँडाको मनमोहन भ्यु टावर र स्मारक जोड्ने थप सडक निर्माणका लागि वाग्मती प्रदेश सरकारलाई आग्रह गरिएको छ ।

तत्कालीन मकवानपुर जिल्ला विकास समिति र हेटौंडा नगरपालिकाको पहलमा वडा नम्बर ११ नवलपुरमा विसं २०५० वैशाख १५ गते स्मारक स्थापना गरिएको थियो । तत्कालिन जिविस सभापति वीरबहादुर लामाले उक्त स्मारकको शिलान्यास गर्नुभएको थियो । तत्कालिन नेकपा(एमाले)का अध्यक्ष एवम् प्रधानमन्त्री मनमोहन अधिकारीले विसं २०५१ माघ १७ गते स्मारक उद्घाटन गर्नुभएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले करीब डेढ वर्षअघि समितिको परिसरमा स्थापित कोइराला, सिंह, पुष्पलाल र अधिकारीको शालिक अनावरण गर्नुभएको थियो । हेटौंडा बजारबाट करीब चार किलोमिटर उत्तरतर्फ करीब २० हेक्टर क्षेत्रफल स्मारक क्षेत्रले ओगटेको बताइएको छ । स्मारकमा तत्कालीन स्थानीय विकास र शहरी विकास मन्त्रालय, तत्कालीन जिविस, हेटौंडा नगरपालिका, विभिन्न गैरसरकारी संघसंस्था तथा बाह्य दातृ संस्थाको प्रत्यक्ष सहयोगसमेत गरी करीब रु २४ करोड अनुदान खर्च भइसकेको समितिले जनाएको छ । उक्त स्मारक विकास समितिमा हाल करीब ३० मजदूर र कर्मचारी कार्यरत छन् ।