८ बैशाख २०८१, शनिबार

नीर शाह ७५ बर्षमा प्रवेश, जन्मदिनको शुभकामना

nir saha

नेपाली चलचित्र क्षेत्रका सफल निर्देशक, कलाकार, निर्माता, लेखक तथा गीतकार नीर विक्रम शाह आजबाट ७५ बर्षमा प्रवेश गरेका छन् ।

कलाकार शाहलाई सामाजिक सञ्जालको माध्यमबाट विभिन्न चलचित्रकर्मी तथा शुभेच्छुकहरुले जन्मदिनको शुभकामना दिइरहेका छन् । फिल्म ‘सेतो बाघ’ पछि निर्देशनबाट टाढा रहेका शाहको चरित्र अभिनेताको रुपमा अहिले पनि नेपाली फिल्ममा राम्रो माग छ ।

वि.सं. २०२४ सालमा हिरासिंह खत्री निर्देशित फिल्म ‘परिवर्तन’ बाट उनले अभिनय यात्रा सुरु गरेका थिए । शाहले अभिनय गरेको पहिलो नेपाली चलचित्र ‘परिवर्तन’ हो ।

शाहले ‘कुसुमे रुमाल, प्रेम पिण्ड, नाता रगतको, ढुकढुकी, बादलपारि, सिउँदोको सिन्दुर, गौथली, जीवनसाथी, बाचा बन्धन, मुना मदन, सानो संसार, किस्मत’ लगायतका चलचित्रमका अभिनय गरेका छन् ।

५ दशक लामो फिल्म करिअरमा उनले प्रेमपिण्ड, नाता रगतको, कान्छी, ढुकढुकी, मुनामदन, किस्मत, सानो संसार, बादलपारी’ लगायत तीन सय बढी फिल्ममा काम गरेका छन् । उनले बलिउडका केही फिल्महरुमा पनि अतिथि भूमिकामा काम गरिसकेका छन् ।

कलाकार शाहले धेरै फिल्मको स्क्रिप्ट पनि लेखेका छन् । पहिलो फिल्ममा ७ सय रुपैयाँ पारिश्रमिक पाएका उनी अहिले नेपाली फिल्मका महंगा चरित्र अभिनेताका रूपमा परिचित छन् । कुशल गीतकार समेत रहेका उनी ‘पर्खिबसे आउला भनी’, ‘छोरी मलाई भागी भागी नसताऊ’ ‘गहिराइमा डुब्दै नडुब’, ‘प्यारी बसन्ती’, ‘को हो त्यो जसले मलाई’ जस्ता लोकप्रिय गीतका स्रष्टा हुन् ।

शाहले ‘बासुदेव, पच्चिस बसन्त, बसन्ती, राजमती, सेतो बाघ’ लगायतका चलचित्र निर्देशन गरेका छन् ।

झण्डै १३ वर्षदेखि प्रेसरको औषधी सेवन गरिरहेका कलाकार नीर शाहलाई नेपाली फिल्म क्षेत्रको भीष्म पितामह भन्ने गरिएको छ । नेपालमा टेलिभिजन स्थापित गर्नमा पनि उनको ठूलो योगदान छ । उनी नेपाल टेलिभिजनका संस्थापक अध्यक्ष हुन् ।

अभिनयका अलावा लामो समयदेखि कन्सल्टेन्सी चलाउँदै आएका उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कयैन् सम्मान प्राप्त गरिसकेका छन् ।

आज पनि नेपाली चलचित्र क्षेत्रमा सक्रिय रुपमा लागिरहेका नेपाली फिल्म क्षेत्रका एक चम्किला नक्षत्र नीर शाहलाई जन्मदिनको शुभकामना ।