८ बैशाख २०८१, शनिबार

जन्मदिनमा अमिताभले सम्झिए – बुबा भन्‍नुहुन्थ्यो म हजुरबुबाको पुनर्जन्म हुँ, अभिनयमात्रै होइन हुलिया बदल्न पनि माहिर

Amitabh

बलिउड सुपरस्टार अमिताभ बच्चन आज (११ अक्टोबर) आफ्नो ७८ औं जन्मदिन मनाइरहेका छन् ।

केही महिनाअघि मात्रै कोरोना संक्रमणमुक्त भएका अभिताभको बीग बीको कामप्रतिको जोश, लगाव र व्यस्तता उस्तै छ ।

सामाजिक सञ्‍जालमार्फत आफ्नो प्रशंसकसँग हरेक कुरा सेयर गर्ने बच्चनले ७८ औं जन्मोत्सवको उपलक्ष्यमा आफ्नो जन्मको एक किस्सा सेयर गरेका छन् ।

अमिताभ आफ्नी आमाको पेटमा हुँदा बुबा ‘हरिवंशराय बच्चनलाई आजकै दिन एउटा सपना देखेका थिए । सपनामा हरिवंशरायले आफ्नो बुबा प्रताप नारायण श्रीवास्तव (अमिताभका हजुरबुबाका) लाई देखेर उनले हरिवंशरायलाई उनीहरुको घरमा छोराको जन्म हुन लागेको र अहिले ब्यूँझिहाल्न आग्रह गरेको’ कुरा सेयर गरेका छन् ।

“सपनाबाट ब्युँझेर हरिवंशरायले आफ्नी छेउमा सुतिरहेकी गर्भवती श्रीमतीतर्फ आँखा घुमाए । तर उनकी श्रीमती खाटमा थिइनन् । हरिवंशराय हतारहतार बाथरुम गए र त्यहाँ अमिताभकी आमा लडेर प्रसव पीडाले छटपटाइ रहेकी थिइन्” ।

त्यसको केही घण्टापछि नै उनले छोरा (अमिताभ बच्चन) लाई जन्म दिइन् । अमिताभ लेख्छन्,“केही घण्टामै उहाँले छोरालाई जन्म दिइन्, र त्यो छोरा म थिएँ । यही कारणले गर्दा मेरो बुबालाई सधैं लाग्थ्यो कि म उनको बुबा अर्थात मेरो हजुरबुबाको पुनर्जन्म हुँ । मलाई थाहा छैन म मेरो हजुरबुबाको पुर्नजन्म हुँ वा होइन तर भगवानको आर्शीवाद, ठूलाको माया र प्रार्थना सधैं मेरो राम्रो भाग्यको रुपमा मेरो साथमा छ ।”

यसका साथै अमिताभले जन्मदिनमा शुभकामना दिने सबैलाई माया र धन्यवाद पनि दिएका छन् ।

अभिनयमात्रै होइन लुक्स बदल्न पनि माहिर छन् अमिताभ

उनी पछिल्ला केही वर्षदेखि युवा अभिनेता र समर्थकहरुका लागि समेत प्रेरणाको स्रोत बनेका छन् । अमिताभ केवल उत्कृष्ट अभिनयमात्रै होइन पात्रअनुसार आफ्नो लुक्स बदल्नसक्ने खुबीका कारण पनि चर्चामा रहन्छन् ।

फिल्म पा मा अमिताभको लुक्सले फ्यानहरुलाई छक्क पारेको थियो । यसमा उनले प्रोग्रेरिया नामक दुर्लभ रोगसँग जुधिरहेका १२ वर्षका एक बच्चाको भूमिका निर्वाह गरेका थिए । यस फिल्ममा अमिताभका छोरा अभिषेक भने उनको बाबुको भूमिकामा थिए ।

फिल्म झुम बराबर झुममा अमिताभको निकै छोटो रोल थियो, तर उनको हिप्पी अन्दाज फ्यानहरुबीच निकै लोकप्रिय भयो । फिल्म शहंशाहमा अमिताभ बच्चको लुक्स र उनको पहिरनलाई लिएर पनि धेरै चर्चा भयो, यस फिल्ममा उनी न्याय दिने एक व्यक्तिका रुपमा देखिएका थिए, जो रातमा आफ्नो हुलिया बदलेर बाहिर निस्कन्छ ।

फिल्म १ सय २ नटआउटमा अमिताभले १ सय २ वर्षका व्यक्तिको भूमिका निभाएका थिए । यस कमेडी फिल्म पनि समर्थकहरुमाझ निकै चर्चित बनेको थियो । गुलाबो सिताबो, बुम, हलिउड फिल्म द ग्रेट ग्याट्सबीलगायत फिल्ममा पनि अभिताभको लुक्स फरक थियो । सुपरहिट फिल्म लावारिसको ‘मेरे अंगने में’ गीतमा उनी एक महिलाको भूमिकामा देखिएका थिए । ११ अक्टुबर १९४२ मा जन्मिएका अमिताभ बच्चनले १९६९ मा रिलिज भएको ‘सात हिन्दुस्तानी’ मार्फत बलिउडमा डेब्यु गरेका थिए ।