१२ बैशाख २०८१, बुधबार

सेती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमितको मृत्यु

MC Dhambojhi
सांकेतिक तस्विर

कोरोना सङ्क्रणबाट सेती सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत् एक पुरुषको आज मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–३ का ५२ वर्षीय पुरुष रहेका अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार ती पुरुषको यही असोज २० गते कोरोनो पुष्टि भएको थियो । अस्पतालमा अहिलेसम्म छ जना सङ्क्रमितकोे उपचारका क्रममा मृत्यु भइसकेको छ । यसैगरी प्रदेशभर मृत्यु हुनेको सङ्ख्या १९ जना पुगिसकेको छ । सो अस्पतालमा २३ जना आइसोलेशनमा र दुई जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोभिड–१९का सक्रिय सङ्क्रमित बिरामी बढ्दै गएका छन् । प्रदेशमा शनिबार एकै दिन १३७ जना सक्रिय सङ्क्रमित थपिएपछि सक्रिय सङ्क्रमित एक हजार १७७ पुगेका छन् ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार शनिबार साँझसम्म कोभिड–१९का कूल सङ्क्रमित सात हजार ९५१ जना पुगेका छन् । असोज महिना लागेसँगै प्रदेशमा सङ्क्रमित हुने र मृत्यु हुने दरमा केही वृद्धि भएको छ । तोकिएका स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाई सर्वसाधारणको चहलपहल बढ्दै जाँदा कोरोनाको जोखिम पनि बढेको स्वास्थ्यकर्मीको भनाइ छ ।

चाड पर्व नजिकिँदै जाँदा पछिल्ला दिनमा बजार क्षेत्रमा किनमेल गर्न आउने सर्वसाधारणको भीड बढ्ने गरेको छ । सङ्क्रमणबाट हालसम्म प्रदेशको कैलाली जिल्लाका १० जना, अछाम, बझाङ र बाजुराका दुई÷दुई जना र कञ्चनपर, डडेलधुरा र बैतडीका एक÷एक जनाको मृत्यु भएको छ ।

पछिल्ला दिनमा प्रहरी, विभिन्न कार्यालय र बैंकका कर्मचारी, जनप्रतिनिधि, सञ्चारकर्मीलगायतमा पनि कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको देखिएको छ ।