११ बैशाख २०८१, मंगलवार

‘कोरोना निन्त्रणको नेतृत्व विज्ञले गर्नुपर्छ’

gangalal tuladhar

पूर्वशिक्षामन्त्री डा गङ्गालाल तुलाधारले कोभिड–१९ विरुद्ध सरकारी तयारीमा कमी रहेको टिप्पणी गर्नुभएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) द्वारा आयोजित दोस्रो विश्व ज्ञान सम्मेलनमा उहाँले भन्नुभयो, “सरकार होपलेस देखियो । पूर्वतयारी र न्यूनीकरणको खासै काम भएन । सरकारसँग स्रोत पनि केही पनि छैन भन्नुपर्ने भो ।”

शनिबार सम्पन्न ‘महामारी र प्राकृतिक विपद् न्यूनीकरणका लागि पूर्वतयारी र न्यूनीकरण’ सत्रमा विपद् व्यवस्थापन विज्ञ समेत रहनुभएका उहाँले विपद् व्यवस्थापन तीनवटै तहका सरकारको साझा अधिकार भए पनि समन्वय नै हुन नसक्दा कोरोनाबाट हालसम्म ६०० जनाको ज्यान गएको र सङ्क्रमितको सङ्ख्या एक लाख नाघेको बताउनुभयो ।

उहाँले संविधानले कल्पना गरेको संरचनालाई बेवास्ता गरी सिसिएमसी बनाइँदा अहिले यो अवस्था आइलागेको जनाउनुभयो । “विपद् र महामारी नियन्त्रणका लागि तीनवटै सरकारका भूमिकाबारे संविधान मै स्पष्ट छ ।”उहाँले भन्नुभयो ।

पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले काठमाडौँमा सघन उपचार कक्ष पाउन नसकिने अवस्था आइलागेको बताउनुभयो । ‘अब काठमाडौँमा कोभिड, ननकोभिड कसैले पनि सघन उपचार कक्ष पाउनेवाला छैनन्”, उहाँले भन्नुभयो, ‘जाडो आउँदैछ, शितलहर, भोकमरीको सामना गर्नुपर्ने अवस्था छ ।”

पूर्वस्वास्थ्य सचिव डा सुधा शर्माले राजनीतिक नेतृत्वले महामारी नियन्त्रणको नेतृत्व लिँदा सफल नभएको आरोप लगाउनुभयो । लकडाउनको दुई महिना र लकडाउन पश्चातका दुई महिनामा कोभिड–१९ विरुद्ध तयारीका उल्लेखनीय काम हुन सकेन भन्नुभयो ।

एनआरएनएका आइसिसी उपाध्यक्ष डा बद्री केसीले एनआरएनलेले विपद्मा सहयोग गर्दै आएको बताउनुभयो । एनआरएनएका स्वास्थ्य समिति संयोजक डा सञ्जीव सापकोटाले पूर्वतयारी विना महामारी नियन्त्रणको काम गर्न सकिँदैन भन्नुभयो ।