७ बैशाख २०८१, शुक्रबार

अजरबैजान र अर्मेनियाबीच युद्धविराम

Karabakh War Map

अजरबैजान र अर्मेनियाबीच शनिबार युद्धबिरामका विषयमा सहमति भएको बताइएको छ । यी दुई देशबीच युद्धविरामको सम्झौता भएको र शनिबारदेखि युद्धविराम लागू हुने रुसी विदेश मन्त्रीले जानकारी दिनुभएको हो ।

रुसी राजधानी मस्कोमा गएको करिब १० घण्टासम्म यी दुई देशबीच वार्ता भएको थियो । उक्त वार्तापछि युद्धबिरामको सहमति भएको रुसी विदेशमन्त्री सेर्गेई लाभरोभले जानकारी दिनुभएको समाचारमा जनाइएको छ ।

अब यो युद्धविरामसँगै हालैका दिनमा त्यहाँ जारी रहेको समस्याको समाधानका लागि पनि अब दुई मुलुकले ठोस वार्ता गर्ने भएका रुसी विदेशमन्त्री लाभरोभले जानकारी गराउनुभएको हो ।
यी दुई देशका बीचमा दशकौँ देखि भूमीसम्बन्धी विवाद रही आएको छ । यी दुई मुलुकबीच पछिल्लो समय सेप्टेम्बर २७ मा युद्ध भड्किएपछि आक्रमण जारी रहेको छ ।

हिमाली क्षेत्र नोगोर्नो काराबाखलाई लिएर पछिल्लो समयमा यी दुई देशबीच भएको युद्धमा परेर करिब ४ सय जनाले ज्यान गुमाएका पनि पछिल्लो प्राप्त समाचारमा जनाइएको छ ।
काराबाख क्षेत्रमा युद्ध बढ्दै गएपछि विश्व समुदायको ध्यान त्यसतर्फ पुगेको थियो । त्यहाँ युद्ध भने जारी छ ।

त्यस युद्धको अन्त्यको पहलस्वरुप रुसले मध्यस्थता थालेको थियो । शनिबार पनि रुसकै पहलमा यी दुई देश युद्धविरामका लागि तयार भएका हुन् ।अर्मेनियामा रुसको सैन्य आधार शिविर पनि रहेको बताइएको छ । त्यस्तै अजरबैजानसँग पनि रुसको सम्बन्ध रहेको बताइएको छ ।

विवादास्पद नागोर्नो काराबाख क्षेत्र अजरबैजानको भूमि हो । तर त्यो क्षेत्र लामो समयदेखि नै अर्मेनियाको जातीय समुहको नियन्त्रणमा रही आएको छ । सोही क्षेत्रलाई लिएर यसअघि पनि सन् १९९१ देखि १९९४ सम्म दुई मुलुकबीच युद्ध भएको थियो । त्यस युद्धमा हजारौँ नागरिकको ज्यान गएको थियो ।