८ बैशाख २०८१, शनिबार

धमाधम सेवा अवरुद्ध

Kanchanpur District 1

कञ्चनपुरका पालिका सहित सरकारी कार्यालयमा सेवारत कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि हुन थालेपछि धमाधम कार्यालयका सेवा अवरुद्ध हुन थालेका छन् । बेलौरी नगरपालिकामा कार्यरत तीन कर्मचारीमा कोरोना पुष्टि भएपछि नगरपालिका एक साताका लागि सिल गरिएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमप्रसाद चौधरीले भन्नुभयो, “आगामी बिहीबारसम्म स्वास्थ्य सुरक्षा अपनाउन सिल गरिएको हो । कर्मचारीलाई नै कोरोना देखिएपछि सेवा दिन सक्ने अवस्था हुँदैन ।” नगरपालिकाले सङ्क्रमितको सम्पर्कमा आएका अन्य कर्मचारीको समेत कोरोना परीक्षण गर्ने जनाएको छ ।

त्यसैगरी दुई दिनदेखि महेन्द्रनगरस्थित आन्तरिक राजश्व कार्यालयले सम्पूर्ण सेवा बन्द गरेको छ । राजश्व कार्यालयमा एक पुरुष कर्मचारीमा सङ्क्रमण देखिएपछि कार्यालयले सेवा बन्द गरेको हो । कार्यालयमा कार्यरत अन्य १७ कर्मचारीको समेत स्वाब सङ्कलन गरिएको र सो नतिजाका आधारमा सेवा सञ्चालन गरिने राजश्व कार्यालयले जनाएको छ । यहाँको दक्षिण क्षेत्रमा रहेको पुनर्वास नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना देखिएको छ ।

दुई दिनअघि कर्मचारीमा कोरोना देखिएपछि अतिआवश्यकबाहेकका सेवा बन्द गरिएको नगरपालिकाले जनाएको छ । अत्यावश्यक सेवा लिनका लागि स्वास्थ्यका मापदण्ड पालना गरी सेवा लिन सकिने नगरपालिकाबाट जारी सूचनामा भनिएको छ ।

त्यसैगरी यहाँको महाकाली अस्पतालमा आइसीयूमा उपचाररत बिरामीलाई कोरोना सङ्क्रमण देखिएपछि केही दिनयता आइसीयू सेवा अवरुद्ध छ । शुक्रबार अस्पतालका केही कर्मचारीमा समेत कोरोना पुष्टि भएकोे छ ।