१५ चैत्र २०८०, बिहीबार

गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षसहित ११ जनालाई कोरोना

dupcheshwor rural municipality

नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित ११ जनामा कोरोना रोगको सङ्क्रमण पुष्टि भएको छ । असोज २१ गते गरिएको स्वाब परीक्षणको नतिजामा गाउँपालिकाको अध्यक्ष योविन्द्रसिंह तामाङ, उपाध्यक्ष अञ्जु आचार्यसहित ११ जनामा रोगको सङ्क्रमण भएको नतिजा आएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

गाउँपालिकाको अध्यक्ष तामाङले आफू र उपाध्यक्षसहित ११ जनामा सक्रमण भएको नतिजा आएकाले सम्पर्कमा रहेका व्यक्तिहरुलाई सुरक्षित भएर क्वारेन्टिनमा बस्न आग्रह गर्दै स्वाब जाँचको प्रबन्ध मिलाउने जानकारी दिनुभयो । अध्यक्ष तामाङको अनुसार कोरोना सङ्क्रमण पुष्टि हुनेमा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, अध्यक्षका सवारीचालक, गाउँपालिकाको कार्यालय सहयोगी, दुई जना एम्बुलेन्स चालक र पाँच जना शिक्षक रहेका छन् ।

गएको बुधबार १८ जनाको स्वाब सङ्कलन गरेर पठाएको नमूनामध्ये ११ जनामा रोगको सङ्क्रमण देखिएको स्वास्थ्य शाखाले जनाएको छ । सङ्क्रमणपश्चात गाउँपालिकाले प्रवाह गर्ने सबै सेवाहरु अनिश्चित समयको लागि रोकिएको छ भने गाउँपालिकाको कार्यालय रहेको स्थान समुन्द्रटार बजार ‘सिल’ गरिएको छ ।