७ बैशाख २०८१, शुक्रबार

सोलुखुम्बुलाई दुई वर्षमा फुसको छाना मुक्त बनाइने

kummayak jastapata

सोलुखुम्बुलाई दुई वर्षभित्र फुसको छानोमुक्त बनाइने भएको छ । सोलुखुम्बुका सङ्घीय सांसद हेमकुमार राई (शुरवीर)ले जस्ताको छाना लगाउन नसक्ने विपन्न परिवारलाई सङ्घीय सरकारले रु ५० हजार सहयोग गरेर फुसको छानामुक्त बनाइने बताउनुभयो ।

सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा जिल्लाका एक हजार २८९ विपन्न परिवारले उक्त अनुदान पाउने सांसद राईको भनाइ छ । सांसद राईको संयोजकत्वमा शुक्रबार जिल्ला समन्वय समितिको कार्यालयमा बसेको सुरक्षित नागरिक आवास समन्वय समितिको बैठकले आठवटै स्थानीय तहका वडामा अनुदान दिने घरधुरीको सङ्ख्या निर्धारण गरेको छ ।

बैठकको निर्णयअनुसार प्रथम चरणको यस कार्यक्रमअन्तर्गत थुलुङ दूधकोशी गाउँपालिकामा सबैभन्दा बढी ३४७ र लिखुपिके गाउँपालिकामा सबैभन्दा कम ७५ घरधुरीले अनुदान प्राप्त गर्नेछन् । यसैगरी सोलुदूधकुण्ड नगरपालिकामा १३०, माप्या दूधकोशी गाउँपालिकामा १४१, नेचा सल्यान गाउँपालिकामा २२९, महाकुलुङ गाउँपालिकामा १३५, खुम्बु पासाङल्हामु गाउँपालिकामा ७७ र सोताङ गाउँपालिकामा १५५ घरधुरीले अनुदान प्राप्त गर्ने छन् । खुम्बु पासाङल्हामु गाउँपालिकाको वडा नं २ मा भने यसअघिनै जस्तापाताको छानो रहेको गाउँपालिकाले जनाएको छ ।

बैठकमा सङ्घीय सांसद राईले गरिबीको रेखामुनि रहेका र छानो फेर्न नसक्ने विपन्न वर्गलाई यस कार्यक्रमले राहत मिल्ने बताउनुभयो । सोलुखुम्बुको लागि बढी सङ्ख्यामा माग गरिएको भए पनि पहिलो चरणमा एक हजार २८९ घरधुरीका लागि बजेट प्राप्त भएको उहाँको भनाइ छ । जसकोे कार्यान्वयन स्थानीय सरकारले नै बताइएको छ ।

त्यसैगरी बैठकमा जिल्ला समन्वय समिति, सोलुखुम्बुका प्रमुख वीरकुमार राईले खर, काठ वा ढुङ्गाको छानो जोखिमपूर्ण हुने भएकाले सुरक्षित नागरिक आवास कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । सोलुखुम्बुमा सञ्चालन हुने यस कार्यक्रमअन्तर्गत सबै जस्तापाता हरियो घाँसे रङको प्रयोग गरिने भएको छ । वातावरणमैत्री र प्रभावकारीरुपमा कार्यक्रम सञ्चालनका लागि हरियो (घाँसे) रङको जस्तापाता प्रयोग गर्ने निर्णय गरेको सांसद राईले बताउनुभयो ।