९ कार्तिक २०७८, मंगलवार

सत्याग्रहको २६ औं दिन: प्रा डा केसीको आन्दोलन छिटो सहमति गरेर अनशन तोडाउने प्रयास

govinda kc 26th day satyagraha
डाक्टर केसीलाई सिटि स्क्यान गर्न लाने र ल्याउने क्रममा । डाक्टर के सीको छाती अत्याधिक दुखेको र डाक्टरले जाँच्ने क्रममा निमोनियाको लक्षण देखिएकोले सिटि स्क्यान गरिएको हो । भोक र सबथोकसँगको सत्याग्रह आज २६ औं दिन । (सन्जिव कार्कीको फेसबुकबाट )

सरकारले बुधबार गठन गरेको वार्ता टोली र अनशनरत प्रा डा गोविन्द केसीपक्षीय प्रतिनिधिमण्डल सकेसम्म छिटो सहमति गरेर अनशन तोडाउने प्रयासमा जुटेका छन् । प्रा डा केसीको मागका विषयमा सहमति जुटाउन दुवै वार्ता टोलीबीच बिहीबार बिहान १०:३० बजेदेखि वार्ता भएको थियो । दिनभरजसो नै दुई टोलीबीच प्रा डा केसीका मागका विषयमा बुँदागत रुपमा छलफल गरिएको वार्ता टोलीका एक सदस्यले जानकारी दिनुभयो ।

राति अबेरसम्म भएको वार्ताले निकास ननिकाले पनि सकारात्मक दिशातर्फ अघि बढेको र आज पुनःवार्ता बस्ने गरी टुङ्गिएको थियो । प्रा डा केसीका तर्फबाट वार्ता टोलीमा सहभागी अधिवक्ता ओमप्रकाश अर्यालले आज वार्ता बस्ने तय भए पनि समय निश्चित नभएको राससलाई जानकारी दिनुभयो ।

“हिजो दुई पक्षबीच जे निष्कर्ष निकालिएको थियो, माथिल्लो तहमा रिपोर्टिङ गरेर आज पुनःवार्ता बस्ने सहमति भएको थियो तर सरकारी टोलीबाट अहिलेसम्म कुनै जानकारी आएको छैन, हामी वार्ताको तयारीका साथ बसेका छौँ”, अधिवक्ता अर्यालले भन्नुभयो ।

अर्यालले सकेसम्म छिटो निकास निकालेर अनशन तोडाउने पक्षमा दुवै टोली रहेको जानकारी दिनुभयो ।

सरकारले बुधबार शिक्षा सचिव गोपीनाथ मैनालीका संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो । सरकारी टोलीमा सहसचिव गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा दिलीप शर्मा सहभागी हुनुहुन्छ । सरकारले टोली गठन गरेलगत्तै प्रा डा केसीका तर्फबाट डा जीवन क्षेत्रीको संयोजकत्वमा वार्ता टोली गठन गरिएको थियो । उक्त टोलीमा डा अञ्जनीकुमार झा, अधिवक्ता अर्याल र नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा लोचन कार्की सहभागी हुनुहुन्छ ।

चिकित्सा शिक्षा सेवा सुधारका लागि प्रा डा केसीले भदौ २९ गते जुम्लाबाट आफ्नो १९औँ अनशन शुरु गर्नुभएको थियो । प्रा डा केसीले चिकित्सा शिक्षा सुधारका विषयमा ६ बुँदे माग प्रस्तुत गर्नुभएको छ । अनशन शुरु भएको आठौँ दिनमा उहाँलाई सरकारले काठमाडौँ ल्याएको थियो ।

उहाँले निःशुल्क र गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समान पहुँच, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएसलगायत शैक्षिक कार्यक्रम सञ्चालन गरिनुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन शुरु गरिनुपर्ने, प्रदेश नं २ र गण्डकी प्रदेश तथा विभिन्न विकट जिल्लामा अस्पताल र मेडिकल कलेज स्थापना गर्नुपर्नेलगायत माग राख्नुभएको छ । प्रा डा केसीको जीवनरक्षाको माग गर्दै मुलुकका विभिन्न क्षेत्रमा प्रदर्शन भइरहेको छ भने चिकित्सकहरुसमेत आन्दोलित छन् ।