६ बैशाख २०८१, बिहीबार

अपाङ्गतामैत्री पैदलयात्रु मार्ग निर्माण गरिँदै

road

डिभिजन सडक कार्यालय काठमाडौँले जिल्लाका विभिन्न स्थानमा अपङ्गतामैत्री पैदलयात्रु मार्ग निर्माण गर्ने भएको छ । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा डिभिजनले योजना बनाउँदा पैदलयात्रु मार्ग निर्माणमा ध्यान दिने गरी योजना बनाएको हो ।

सिंहदरबार आसपासका क्षेत्रमा अपाङ्गतामैत्री पैदलयात्रु मार्ग निर्माण शुरु भइसकेको डिभिजन प्रमुख कुबेर नेपालीले बताउनुभयो । उहाँका अनुसार डिभिजनले पैदलयात्रुको चाप बढी भएका सडकमा पहिलो चरणमा पैदलयात्रु मार्ग अघि बढाउँदैछ । उहाँले भन्नुभयो, “विस्तारै सबै सडकमा यसलाई विस्तार गर्दै लगिनेछ ।”

डिभिजनले बढी चाप भएका सडकसँगै निर्माणका क्रममा रहेका सडकमा समेत अपाङ्गतमैत्री पैदलयात्रु मार्ग निर्माण गर्ने योजना बनाएको छ । हाल निर्माण भइरहेको गौशाला–चावहिल सडकमा यसलाई अघि बढाइएको प्रमुख नेपालीले बताउनुभयो । त्यस्तै, सडक निर्माणका लागि निर्माणस्थल खाली भइरहेको कोटेश्वर–जडीबुटी सडकमा पनि पैदलयात्रु मार्ग निर्माण गरिने भएको छ । गत वर्षमा आवधिक मर्मतको काम गरेर खाल्डाखुल्डी धेरै ठाउँमा हटाएको डिभिजनले यस बर्ष पैदलयात्रु मार्गतर्फ ध्यान दिएको हो ।

उहाँले भन्नुभयो, “सरल, सहज र अपाङ्गतामैत्री पैदलयात्रु मार्ग बनाउँदा सबैलाई हिँड्न सजिलो हुनेछ ।” डिभिजनले सङ्घीय सरकारअन्तर्गत सडकको मर्मत र स्तरोन्नतिको काम गर्दै आएको छ । सङ्घअन्तर्गत धेरै सडकमा पैदलयात्रु मार्ग छैन । कतिपय स्थानमा भए पनि अपाङ्गता भएका व्यक्ति मात्रै मात्रै होइन अरु पैदलयात्रुलाई समेत आवतजावत कठीन हुने किसिमको रहेको देख्न सकिन्छ ।

    सम्बन्धित समाचार...