१३ बैशाख २०८१, बिहीबार

चीनका कारण मलाई कोरोना भयो, चीनले परिणाम भोग्‍नुपर्छ: ट्रम्प

trump

कोरोना भाइरस संक्रमणका कारण चार दिनसम्म अस्पतालमा भर्नापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प काममा फर्किएका छन् ।

अस्पतालबाट फर्किएपछि उनले उनले भिडियो सन्देश जारी गर्दै स्वास्थ्य अवस्थाबारे जानकारी दिएका छन् ।

ओभल कार्यालय बाहिर छायाङ्कन गरिएको ट्रम्पको एउटा भिडिओ ह्वाइट हाउसले सार्वजनिक गरेको छ। भिडियोमा राष्ट्रपति ट्रम्प बिनामास्क देखिएका छन् ।

जसमा ट्रम्पले आफूलाई भएको कोरोनाभाइरस सङ्क्रमणलाई सुरुमा कठिन तर भगवानको आशिर्वादको पछि राम्रो भएको रूपमा लिएको बताएका छन्।

झन्‍डै पाँच मिनेटको भिडियोमा उनले भनेका छन्, “मलाई कोरोना संक्रमण हुनुमा ईश्वरको आशीर्वाद थियो… एउटा लुकेको आशीर्वाद । अब म पूरै ठीक छु । जसरी मलाई राष्ट्रपतिको हैसियतमा अस्पतालमा उपचार भयो त्यसै गरी हरेक अमेरिकी नागरिकको उपचार होस् भन्‍न म चाहन्छु ।”

राष्ट्रपति ट्रम्प भिडियोमा चीनमाथि आक्रमण गर्न भने चुकेनन् । उनले भने, “मलाई चिनियाँ भाइरसको संक्रमण भयो, यसमा तपाईंको गल्ती होइन, चीनको गल्ती हो । चीनले यसको परिणाम व्यहोर्नुपर्नेछ । चीनले यो देशका साथ जे गरेको छ, त्यसको मूल्य चुकाउनुपर्नेछ ।”

उनले सबै सङ्क्रमितको निम्ति निशुल्क औषधि उपलब्ध गराउने प्रतिबद्धता पनि जनाएका छन्।

अमेरिकी सञ्चार माध्यमहरूले उक्त भिडिओ एक दिन अघि सार्वजनिक गर्ने योजना रहेको तर उपराष्ट्रपतिका उम्मेद्वारहरूबीचको बहस हुनुभन्दा तीन घन्टाअघि सार्वजनिक गरिएको उल्लेख गरेका छन्।