७ बैशाख २०८१, शुक्रबार

नेमकिपाका जनप्रतिनिधि नेकपामा

nekapa ncp

नेपाल मजदूर किसान पार्टी (नेमकिपा)का निर्वाचित जनप्रतिनिधिसहित कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।

नेकपा भक्तपुरले आज सूर्यविनायकमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेकपा वाग्मती प्रदेशका सचिव आनन्दप्रसाद पोखरेलले नेमकिपा परित्याग गरी नेकपा प्रवेश गर्ने जनप्रतिनिधिसहितका कार्यकर्तालाई टीका र खादा ओढाएर स्वागत गर्नुभयो ।

सो अवसरमा पूर्वमन्त्री पोखरेलले लामो समय भक्तपुर जिल्लाका जनताले जनप्रतिनिधि बनाएर पठाए पनि भक्तपुर नगरबाहेक जिल्लाको विकास गर्न नसकेको, नगरभित्रै पनि जनतालाई विभेद गर्दै आएको र जनताको समस्यालाई आत्मासात् गर्न नसकेको नेमकिपाका नेताकार्यकर्ता नेकपा प्रवेश गर्नाको विकल्प नभएको बताउनुभयो ।

नेमकिपाबाट निर्वाचित भक्तपुर नगरपालिकाका–१ का वडा सदस्य विश्वराज शिल्पकारको नेतृत्वमा २०४ जनाले नेमकिपा त्यागेर नेकपामा प्रवेश गरेको नेकपा भक्तपुर जिल्ला अध्यक्ष वचन देउजाले जानकारी दिन्ुभयो ।

पार्टी प्रवेश गर्दै वडा सदस्य शिल्पकारले नेमकिपा विधि र पद्धतिमा चल्न नसकेको, व्यक्तिवादी चरित्र हावी भएको, नगरपालिकाभित्र सीमित हुँदै क्षेत्रगत दायरा साँघुरिदै गएको र राष्ट्रिय राजनीतिमा पहुँच राख्न नसकेकाले नेमकिपा परित्याग गर्नुपरेको स्पष्ट गर्नुभयो ।

कार्यक्रममा नेकपा भक्तपुर इञ्चार्ज एवं केन्द्रीय सदस्य दिलीप प्रजापति, चाँगुनारायण नगरपालिकाका प्रमुख एवंं नेकपा केन्द्रीय सदस्य सोम मिश्र, नेकपा जिल्ला सचिव डिपी ढकाललगायतले काठमाडौँ उपत्यकाभित्र रहेर पनि पिछडिएको भक्तपुरको मुहार फेर्न नेकपा सक्रिय रहेको जिकिर गर्नुभयो ।