१३ बैशाख २०८१, बिहीबार

बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई जमानतमा छाड्न बम्बै उच्च अदालतको आदेश

Rhea Chakraborty Mumbai

बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई बम्बै उच्च अदालतले जमानतमा रिहा गर्न आदेश दिएको छ । चक्रवर्तीलाई बुधबार मुम्बईको उच्च अदालतले धरौटीमा छाड्न आदेश दिएको हिन्दुस्तान टाइम्सले जनाएको छ।

लागूऔषध मुद्दाको अनुसन्धानका लागि झन्डै एक महिनादेखि न्यायिक हिरासतमा रहेकी रियालाई बुधबार बम्बै उच्च अदालतले जमानतमा रिहा गर्न आदेश दिएको हो ।

उनलाई नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी)ले सेप्टेम्बर ८ तारिखमा सुशान्तसिंह राजपुतलाई लागूऔषध दिने गरेको आरोपमा पक्राउ गरेको थियो। उनले एक लाख धरौटी र पासपोर्ट बुझाउन पर्नेछ। साथै मुम्बई बाहिर जान अदालतसँग अनुमतिसमेत लिनुपर्नेछ।

रियासँगै दिपेश सावन्त र स्यामुएल मिरान्डलाई पनि जमानतमा रिहा गर्न अदालतले आदेश दिएको सञ्चार माध्यम इन्डिया टुडेले जनाएको छ ।

रियाका भाइ शोविक चक्रवर्तीको जमानत याचिका भने अदालतले खारेज गरिदिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार रियालाई ससर्त जमानत प्राप्त भएको हो । उनले प्रहरीलाई पासपोर्ट बुझाउनुपर्नेछ भने मुम्बईबाट बाहिर जानुपरेमा अनुमति लिनुपर्नेछ । सोधपुछका लागि बोलाउँदा पनि उनी उपस्थित हुनुपर्ने सर्तमा उनलाई रिहा गर्न बम्बै उच्च अदालतले आदेश दिएको हो ।

सुशान्त राजपुतका लागि काम गर्ने दिपेश सावन्त र स्यामुयल मिरान्डालाई पनि अदालतले धरौटीमा छाड्न आदेश दिएको हो।

रियाका वकिल सतीश मानेशिन्देले बम्बै अदालको आदेशबाट आफूहरु खुसी भएको भन्दै तथ्य र प्रमाणको आधारमा सत्य र न्याय स्थापित भएको प्रतिक्रिया दिएका छन् । उनले रियाको पक्राउ पनि अनावश्यक भएको उल्लेख गर्दै सीबीआई, ईडी र एनसीबीले त्यसै दु:ख दिएको बताएका छन् ।

शोविक र स्यामुयललाई ब्युरोले सेप्टेम्बर ४ मै नियन्त्रणमा लिइएको थियो। रियालाई सुशान्तलाई लागूऔषध उपलब्ध गराएको र लागूऔषध ओसारपसारमा संलग्न गिरोहको सदस्य भएको आरोप लागेको थियो ।

जुन १४ गते अभिनेता सुशान्त मुम्बईस्थित आफ्नै फ्ल्याटमा मृत फेला परेका थिए। उनको पोस्टमार्टम रिपोर्टको अनुसार उनले आत्महत्या गरेको पुष्टि भएको थियो।