७ बैशाख २०८१, शुक्रबार

स्वास्थ्य मन्त्रालयले भन्यो- यही स्तरमा संक्रमण बढे काठमाडौंको अस्पतालले भार थाम्न सक्दैन

Jageshwar Gautam

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय काठमाडौं उपत्यकाका अस्पतालहरूमा बेडको अभाव हुँदै गएको जनाएको छ।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले कोरोना भाइरसको संक्रमण दर वृद्धि भएसँगै अस्पतालहरुमा बेडको अभाव हुँदै गएको बताएका छन् । काठमाडौंमा संक्रमितहरूको व्यवस्थापन गर्न थप चुनौती देखिएको जानकारी गराए।

उनले यही स्तरमा संक्रमण दर बढिरहे उपत्यकाका अस्पतालहरूले भार थाम्न नसक्ने पनि जनाए।

गौतमले बिरामीहरुलाई पायक पर्ने स्थानमा बेड उपलव्ध हुन नसकेको भन्दै यस महामारीको अवस्थामा सबै सरकारी तथा निजी अस्पतालहरुले कोभिडका विरामीहरुको उपचार व्यवस्था गर्न आवश्यक रहेको पनि बताएका छन् ।

उनले स्वास्थ्य सुरक्षा नअपनाउँदा कोरोना संक्रमण अप्रत्याशित रुपमा बढेको भन्दै अब अस्पतालले नधान्ने पनि बताएका छन् । संक्रमितको उपचार सरकारी र निजी दुवै अस्पतालहरूले गर्न आवश्यक रहेको पनि बताए।

‘विशेषगरी काठमाडौँ उपत्यकामा संक्रमितहरुको उपचार व्यवस्थापन गर्न थप चुनौती बढेको अवस्था छ’, बुधबारको नियमित प्रेस ब्रिफिगमा प्रवक्ता गौतमले भने, ‘यही तरिकाले संक्रमण बढ्दै जाने हो भने अस्पतालले यो भार थाम्न सक्दैन ।’

उनले पछिल्लो समय चाडपर्व नजिकिँदै गर्दा बजारमा मानिसहरूको भीड देख्दा संक्रमणको बेवास्ता गरिएको जस्तो देखिएको भन्दै सबैलाई सतर्कता अपनाउन आग्रह गरे।

उनले भिडभाड नगर्न आग्रह गर्दै ‘बजारमा किनमेल गर्नेहरुको भिडले तीव्रगतिमा बढेको कोरोना छैन कि भन्ने भान’ भएको बताए । ‘तपाईं हाम्रा व्यवहारले संक्रमण अप्रत्यासित बढेको छ’ गौतमको भनाइ छ ।

मानिसहरूले जनस्वास्थ्यको मापदण्ड पालना नगर्दा संक्रमण दर बढिरहेको भन्दै मन्त्रालयले दोष देखाउँदै आएको छ।