
दोलखाको सैलुङ गाउँपालिका मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बा २ ख ७२४५ नम्बरको बस सुनकोशी नदीमा खस्दा १४ जनाको मृत्यु भएको सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेले जानकारी दिए । दुर्घटनामा ३८ जना घाइते छन् । नदीमा डुबेको बसको उद्दार जारी रहेकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने उनले बताए । उद्दारकै क्रममा रहेकाले सबै मृतक र घाइतेको पहिचान भएको छैन । स्थानीयवासीका अनुसार केही शवहरु खोलाले बगाएको छ । दुर्घटनाग्रस्त बस सुनकोशी खोलामा डुबेको छ । घाइतेमध्ये ३८ जनाको धुलीखेल अस्पतालमा उपचार भइरहेको छ । अर्का एक जनालाई पनि स्थानीय स्वास्थ्य संस्थाबाट धुलीखेल पठाउने तयारी भएको डीएसपी काफ्लेले जानकारी दिए । नदीमा बस खसेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय वासिन्दा उद्दारमा जुटेका थिए । प्रहरीका अनुसार केही यात्रुलाई नदीले बगाएको पनि हुन सक्ने आशंकामा खोजी जारी राखिएको छ ।