२६ बैशाख २०८१, बुधबार

कोल्डस्टोर बनाइदिन माग

cold store

जुम्लाको सिञ्जा क्षेत्रमा बृहत चिस्यानघर (कोल्डस्टोर) बनाइदिन स्थानीयवासीले माग गरेका छन् । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री विमला केसी मन्त्रालयबाट सञ्चालित योजना अनुगमन गर्न जुम्लाको सिञ्जा क्षेत्रमा पुग्नुभएको अवस्थामा आवश्यक रहेको भन्दै माग गरेको हुन् । मन्त्री केसी प्रत्यक्ष योजनास्थलमा पुगेर किसानसँग छलफल व्यस्त हुनुहुन्छ । कृषि क्षेत्रका समस्या र समाधानका विषयमा नागरिकको परामर्श लिनुहुन्छ । त्यही क्रममा नराकोट पुग्नुभएकी कृषिमन्त्री केसीलाई स्थानीयले चिस्यानघर निर्माण गर्न माग गरेका हुन् ।

पहिलोपटक कृषिमन्त्री घरदैलोमा पुगेकामा खुशी व्यक्त गर्दै स्थानीय नन्दराम रोकायाले यस क्षेत्रमा चिस्यानघर भएको भए बेमौसममा पनि स्याउले बजार पाउने बताउनुभयो । “यो क्षेत्र कृषि उत्पादनका लागि उर्वरभूमि हो”, उहाँले भन्नुभयोे, “सिजनमा सबै कृषकले एकैपटक बिक्री वितरण गर्दा बजार पनि नपाइने र त्यसले मूल्य पनि नपाउने भएकाले यस क्षेत्रमा बृहत कोल्डस्टोरको आवश्यकता परेको हो ।”

सिञ्जा क्षेत्रमा चार गाउँपालिका छन् । यो उत्पादन हुने क्षेत्र पनि हो । यहाँ आलु प्रशस्त उत्पादन हुन्छ । स्याउखेतीको प्रवल सम्भावना छ तर, भण्डारण गर्ने स्थान छैन । स्थानीय गोपाल रोकायाले भन्नुभयो, “स्थानीय वस्तु सङ्कलनका लागि विशाल भण्डारणकक्ष निर्माण भएको खण्डमा यहाँको खाद्यवस्तु बेचेरै किसान समृद्ध हुन सक्छन् । यो आधार जुम्लाको कृषि क्षेत्रमा छ ।”

यहाँ स्याउ भण्डारण गर्न नसक्दा भारतको स्याउ महङ्गोमा किनेर खानुपरेको अनुभव सुनाउनुभयो । आलु, स्याउ जम्मा गरे पनि बेच्ने ठाउँ छैन । यहाँको चिज सडेर जान्छ, कोल्डस्टोरका लागि बत्तीको व्यवस्था छ । उहाँले भन्नुभयो, “कोल्डस्टोर र कृषि विश्वविद्यालय स्थापना हुनसकेको खण्डमा कृषि क्षेत्रमा आत्मनिर्भर हुने देखिन्छ ।”

मन्त्री केसीले कृषि क्षेत्रमा जनताको लगाव निकै प्रशंसनीय रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कृषि विश्वविद्यालय र कोल्डस्टोर निर्माणका लागि छलफल थाल्छौँ”, रैथानेबाली प्रवद्र्धन गर्दै उत्पादन बढाउन किसानलाई उहाँले आग्रह गर्नुभयो । मन्त्री केसीले कालिकोटको सिमाना नाग्मबजार हुदै सिञ्जा गाउँपालिकाको नराकोटसम्म र गुठीचौर, पातारासी र चन्दननाथ नगरपालिकामा सञ्चालित योजनाको अनुगमन गर्नुभयो ।

    सम्बन्धित समाचार...