७ बैशाख २०८१, शुक्रबार

विकासमा बदलिएका प्राथमिकता

jajarkot

शुरुका वर्षमा सडकलाई प्राथमिकता दिएका स्थानीय सरकारले पछिल्लो समय आफ्ना प्राथमिकता बदलेका छन् । स्थानीयवासीलाई रोजगारीदेखि स्वास्थ्य सेवा सुधारलाई प्राथमिकता राखेर पछिल्ला वर्षमा स्थानीय तहले आफ्ना नीति तथा कार्यक्रम अगाडि बढाएको देखिएको छ । पशु, कृषि, स्वास्थ्य, खानेपानी, रोजगारी तथा सिँचाइलाई मुख्य प्राथमिकता राखेर काम गरेको समेत पाइएको छ । स्थापनाको वर्षमा ‘ट्रयाकओपन’ भएका स्थानीय सडक अहिले स्तरोन्नतिका लागि समेत काम भएको स्थानीय तहका प्रमुखहरुले बताएका छन् ।

सुरक्षित सुत्केरी, गर्भवतीलाई पोषण तथा शिक्षा क्षेत्रको सुधारका लागि पूर्वाधारका कार्यक्रमसमेत प्राथमिकतामा राखेर काम गरेको बताएका छन् । छोरी सुरक्षा जीवनभरिको कार्यक्रमलाई मुख्य प्राथमिकता दिएर काम गरेको पाइएको छ । जिल्ला समन्वय समिति जाजरकोटले गरेको समीक्षा गोष्ठीमा स्थानीय सरकारले प्रस्तुत गरेका विवरणमा यस्ता कुरा उल्लेख गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम र मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत बेरोजगार जनशक्तिलाई रोजगारी दिएकोसमेत स्थानीय सरकारले जानकारी दिएका छन् ।

कृषिलाई प्राथमिकता दिएको नलगाड नगरपालिकाले ३५ टन लसुन उत्पादन गरी काठमाडौँमा लगेर बिक्री भएको नगरप्रमुख टेकबहादुर रावलले बताउनुभयो । आर्थिक वर्ष २०७६/७७ मा ४५५ गर्भवतीको घरमा झण्डा गाडेर कुखुरा वितरणदेखि अन्य आधारभूत सामग्रीसमेत उपलब्ध गराएको नगरप्रमुख रावलले बताउनुभयो । त्यस्तै ४०७ जना संस्थागत सुत्केरी भएका नलगाड नगरपालिकामा २९ प्रतिशत अघिल्लो आर्थिक वर्षमा गर्भ जाँच गराएकामा यस आवमा ६२ प्रतिशत बढेको तथ्याङ्कमा उल्लेख छ ।

आव २०७६/७७ मा १९ किलोमिटर सडक निर्माण तथा ४८ किलोमिटर मर्मत तथा स्तरोन्नति भएको उल्लेख छ । त्यस्तै ६४ किलोमिटर घोडेटो बाटो निर्माण गरिएको नगरपालिकाले जनाएको छ । दुईवटा स्वास्थ्य संस्थाका भवन निर्माण गरिनुका साथै सात निर्माणाधीन अवस्थामा रहेको बताएको छ । चार सामुदायिक विद्यालय भवन निर्माण सम्पन्न भएको र सात निर्माणाधीन अवस्थामा रहेको नगरपालिकाले जनाएको छ ।

छवटा सामुदायिक विद्यालयमा पक्की शौचालय निर्माण, ५ः६० किलोमिटर विद्युत्लाइन विस्तार भएको नगरपालिकाको दाबी छ । ५९७ घरधुरीमा सौर्यऊर्जा वितरण गरिएको छ । २८० घरधुरीलाई धुवाँरहित चुलो वितरण गरिएको जनाएको छ । पाँच मन्दिर, पाँच काठेपुल, दुई खोप भवन निर्माण, सात विद्यालय भवन मर्मत, नौ विद्यालयमा घेराबार, १४६ कृषक समूह गठन भएका छन् । वडा नं १, २ र ४ मा मौरीपालन, वडा नं ३ मा सुन्तला तथा अलैँची पकेट, वडा नं ९, १० र ११ मा लसुन पकेट क्षेत्र, वडा नं ७ र ८ मा धानको पकेट क्षेत्रकारूपमा विकास गरिएको छ । त्यस्तै वडा नं ५ मकैको पकेट, वडा ३ र ६ लाई आलु, वडा नं ५ कागती, वडा नं १३ फलफूल, वडा नं २, ४, ५, ७ र ८ लाई तरकारी पकेट क्षेत्र घोषणा गरी कृषकले आम्दानी लिएको नलगाड नगरपालिकाले जनाएको छ । नलगाडमै चार हजार दाँतेओखरका बिरुवा लगाएको छ । स्वास्थ्य क्षेत्रमा समेत ८० प्रतिशतभन्दा माथि प्रगति भएको नगरपालिकाले जनाएको छ ।

आव २०७६/७७ मा भेरी नगरपालिकाले १८ खानेपानीका योजना निर्माण सम्पन्न गरेको जनाएको छ । ३३ वटा आन्तरिक सडक निर्माण, नौ सिँचाइ योजना, २७ वटा भवन र एक पूल निर्माण गरेको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताउनुभयो । ३१ किलोमिटर सडकको ‘ट्रयाकओपन’, १८ किलोमिटर कच्ची सडक मर्मत, सात स्वास्थ्य संस्था निर्माणाधीन अवस्थामा रहेको उहाँले बताउनुभयो ।

जाजरकोट बहुप्राविधिक शिक्षालय स्थापना, सात वडामा आधारभूत स्वास्थ्य संस्था सञ्चालन, कुदु र पुन्मामा ल्याब सेवा सञ्चालनमा ल्याइएको छ । ३८ शिक्षकका दरबन्दी स्वीकृत गरिएको छ । भेरी नपा–१ कालेगाउँमा गहुँको बीउ उत्पादन गरी बीउमा आत्मनिर्भरता ल्याइएको छ । वडा नं ७ को रुपाकोटमा मकैको बीउ उत्पादन गरी बीउ आयातमा न्यूनीकरण गरिएको छ । वडा नं ६ मा आलुको मूल बीउ उत्पादन र वडा नं २ को तिलिङ्गेमा सिमीको बीउ उत्पादन गरिएको नगरपालिकाले जनाएको छ ।

त्यस्तै शिवालय गाउँपालिकाले कृषि क्षेत्रका साथै सबै वडामा सडक निर्माण गरेका जनाएको छ । सवै वडा कार्यालयको भवन निर्माण अन्तिम चरणमा पुगेको बताएको छ । गाउँपालिकाभरि शुद्ध पिउनेपानी उपलब्ध गराउनका लागि ८० प्रतिशत काम भएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिनुभयो । प्रधानमन्त्री रोजगार र मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत बेरोजगार जनशक्तिलाई रोजगारी दिएको समेत बताएको छ ।

कुशे, छेडागाड, बारेकोट जुनिचाँदे गाउँपालिकाले समेत अन्य स्थानीय तहजस्तै विकास निर्माणका काममा प्राथमिकता दिएको पाइएको छ । जुनिचाँदेले सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम सञ्चालन गरी सुत्केरीको जीवन सुरक्षालाई ध्यान दिएको छ । बारेकोट गाउँपालिकाले शतप्रतिशत सुत्केरी सेवा दिएको बताएको छ ।

सङ्घीय र प्रदेशका कार्यालयले सडक निर्माण, विद्यालय भवन निर्माण गरेको प्रगति विवरण सार्वजानिक गरेका छन् । कृषि विकास कार्यालयले स्थानीय उत्पादनलाई जोड दिएको छ । डिभिजन वन कार्यालयले स्थानीय जडीबुटी, वन संरक्षण तथा पर्यटकीयस्थलको संरक्षणमा जोड दिएर काम गरेको जनाएको छ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जिल्लाको विकास निर्माणको काम अन्तिम चरणमा पुगेको बताउनुभयो । सडक, टेलिफोन, सिँचाइ र खोपानीका काम अब अर्को चुनावमा प्राथमिकताका योजनामा नपर्ने समेत मन्त्री बस्नेतले बताउनुभयो । समयअनुसार मानिसका प्राथमिकता बदलिँदै जाने उहाँको दाबी छ ।