८ बैशाख २०८१, शनिबार

प्रधानमन्त्री ओली तेस्रो पटक डायलाइसिस गराउन ग्राण्डी अस्पताल पुगे

pm oli returns from hospital

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको आज तेस्रो पटक डायलाइसिस गरिँदैछ । प्रधानमन्त्री ओली डाइलासिस गर्न धापासीस्थित ग्राण्डी अस्पताल पुगेका छन् ।

बुधबार र बिहीबार पनि प्रधानमन्त्री ओलीको रगतलाई शुद्ध बनाउन गरिने डाइलासिस अन्तर्गत अल्ट्रा फिल्ट्रेसन गरिएको थियो ।

उनको रगतमा क्रेटिनाइनको मात्रा बढी देखिएकाले अब नियमित डायलासिस गर्नुपर्ने चिकित्सकले सुझाव दिएका छन् ।
प्रधानमन्त्री अस्पताल जानुपर्नेभएपछि मन्त्रिपरिषद बैठक समेत पछि सरेको छ । बिहान ११ बजेलाई राखिएको मन्त्रिपरिषद बैठक अव अपरान्ह मात्रै बस्ने छ ।

‘प्रमज्यू अस्पताल जानुपरेपछि क्याविनेट बैठक ३ बजेपछि मात्रै बस्ने भएको छ,’ प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने, ‘त्यसपछि मात्रै सचिवालय बैठक बस्नेछ ।’ प्रधानमन्त्रीको गत बुधबार पहिलो र बिहीबार दोस्रो हेमोडायलाइसिस गरिएको थियो ।

१२ वर्षअघि फेरिएको मिर्गौलाले काम नगरेपछि अब कि नियमित डायलासिस गर्नुपर्ने कि फेरि पनि मिर्गौला प्रत्यारोपण गर्नुपर्ने हुनसक्ने चिकित्सकहरुले बताएका छन् ।

गत बुधबार निममित स्वास्थ्य परीक्षणका लागि अस्पताल गएका प्रधानमन्त्री ओलीलाई भर्ना नै गरेर हेमो डायलासिस गरिएको थियो ।