१२ बैशाख २०८१, बुधबार

अनुगमनमा अखाद्य वस्तु नष्ट

kathmandu metropolitan city

काठमाडौँ महानगरपालिकाले नियमित गरेको बजार अनुगमनको क्रममा कालो दाल, जौको सातु, पापडलगायतका अखाद्य सामग्री नष्ट गरेको छ ।

आज कालीमाटी क्षेत्रमा गरिएको अनुगमनमा शिवज्योति पतञ्जलि आयुर्वेद सेवा केन्द्रका उक्त खाद्य सामग्री नष्ट गरिएको हो । उक्त पसलमा रहेका अन्य सामग्रीमा पनि खाद्यवस्तुको उपभोग्य अवधि लेखिएका अक्षर हातैले मेटिने भेटिएपछि ती सामग्री जफत गरिएको छ ।

समस्या शिवज्योतिमा मात्र होइन । त्यसै क्षेत्रको आयुषा खाद्य स्टोरले बेचेको टमाटो ससको उपभोग्य मिति मेटेर फेरि लेखिएको भेटियो । बट्टा कुच्चिएका र पुराना थिए । अनुगमन टोलीले एक बट्टा नमूना परीक्षणका लागि लियो भने १३ वट्टा बिक्रीका लागि रोक लगायो । पछिल्लो समय हरेक दिन कामपाले अनुगमन गर्दै आएको छ ।

अनुगमन टोली पुगेपछि केही व्यापारी पसलमा सटर तानेर भाग्ने गरेका छन् । बनस्थलीबाट पाँच किलो सुकेका खुर्सानी किन्न आएको बताउने एक खुद्रा उपभोक्ता भन्दै थिए, “अनुगमन आको रहेछ र पो आज सबै पसल बन्द रहेछन्, उतै किन्दा महङ्गो पर्छ । अब भोलि फेरि आउनुपर्ला ।”

भागेका व्यापारीलाई अनुगमन समितिमार्फत आवश्यक कागजातसहित सम्बन्धित कार्यालयमा बोलाइएको छ । अनुगमनका क्रममा रहनुभएका उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाका अनुसार खरिदबिक्री बिल जारी नहुनु नै मूल्य र गुणस्तरमा उपभोक्ता ठगिनु हो । यसमानै कडाइ गर्नुपर्ने उहाँ बताउनुहुन्छ । बजार अनुगमनमा जाँदा प्रचलित व्यवस्था विपरीत काम गर्नेलाई दण्डित गर्ने अधिकार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँग छ । सरोकार भएका निकायसँग समन्वय गरी अहिले अनुगमनको मुख्य जिम्मा स्थानीय तहमा छ ।

विगत दुई वर्षदेखि विभागलाई अनुगमनको क्रममा गल्ती ठहर भएका व्यापारीलाई तत्काल जरिवाना लिनसक्ने गरी अधिकार दिइएको छ । यसरी तत्काल गर्ने कारवाहीमा रु पाँच हजारदेखि रु तीन लाखसम्म तय गरिएको छ ।