५ जेष्ठ २०८१, शनिबार

सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिन महिला मन्त्रालयको पत्र

ministry of women children

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले एकल महिला, अपाङ्गता भएका व्यक्तिलगायतले पाउँदै आएको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिने व्यवस्था तत्काल मिलाउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको छ । गत चैतदेखि एकल महिला र अतिअशक्तको सामाजिक सुरक्षा भत्ता कटौती भएको पाइएपछि महिला मन्त्रालयले त्यसलाई निरन्तरता दिने गरी तत्काल व्यवस्था मिलाउन पत्राचार गरेको हो ।

आर्थिक वर्ष २०७७÷७८ को बजेट वक्तव्यमा समेत हाल सम्म दिइँदै आएका सबै प्रकारका सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिने भन्ने उल्लेख भएकाले निरन्तरता हुने व्यवस्था मिलाउन पत्राचार गरिएको पत्रमा उल्लेख गरिएको छ । गत चैतदेखि एकल र अतिअशक्त अपाङ्गता भएका व्यक्ति÷वर्गको सामाजिक सुरक्षा भत्ता कटौती भएको भनी राष्ट्रिय अपाङ्ग महासङ्घ–नेपालले महिला मन्त्रालयमा निवेदन दिएपछि सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरिएको हो । यसअघि गृह मन्त्रालयलाई पनि सोही व्यहोराको पत्राचार गरिएको थियो ।

यसैबीच महिलामन्त्री पार्वत गुरुङले सामाजिक सुरक्षा भत्ता कटौती हुन नदिने दृढता व्यक्त गर्नुभएको छ । उहाँले केही समययता ती भत्ता रोकिएको भनिए पनि त्यसलाई निरन्तरता दिन आवश्यक पहल कदमी लिइएको स्पष्ट पार्नुभयो ।

    सम्बन्धित समाचार...