१६ जेष्ठ २०८१, बुधबार

बर्दिवास अस्पताललाई पिपिइ सेट बक्स

bardibash hospital

कोभिड–१९ सङ्क्रमण रोकथामका लागि पिसीआर परीक्षण थालेको महोत्तरी जिल्लाको बर्दिवास अस्पताललाई पिपिइ बक्स सेट उपलब्ध भएको छ । शनिबार एक समारोहबीच पद्मशम्शेर खड्का स्मृति प्रतिष्ठान बर्दिवासले स्वास्थ्यकर्मीको सुरक्षाकवच मानिएको पिपिइ (पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट) बक्स सेट उपलब्ध गराएको हो ।

कोभिड–१९ सङ्क्रमण रोकथाममा अग्रमोर्चामा रही काम गर्ने स्वास्थ्यकर्मीलाई स्वाब सङ्कलन गर्दा सङ्क्रमण जोखिम हुन नदिन उपयोगी हुने पिपिइ सेट बक्स प्रतिष्ठानका अध्यक्ष विष्णुबहादुर खड्काले प्रदान गर्नुभएको हो । शङ्कास्पद व्यक्तिको स्वाब सङ्कलन गर्दा सेटबक्सभित्र रहेर काम गर्न सक्ने हुँदा यसको उपयोगले स्वास्थ्यकर्मी सङ्क्रमण जोखिमबाट बच्ने स्वाब सङ्कलनमा संलग्न स्वास्थ्यकर्मीको भनाइ छ । यो बक्ससेट रु ८० हजार मूल्यको बताइएको छ ।

बर्दिवास अस्पतालको नयाँ भवनमा बर्दिवास नगरपालिकाले आफ्नै तत्परतामा पिसीआर मेशिन जडान र सो सञ्चालनका लागि आवश्यक दक्ष जनशक्ति व्यवस्थापन गरेर पिसीआर परीक्षण गर्दै आएको छ । गत भदौ १२ गतेदेखि पिसीआर परीक्षण थालेको बर्दिवास अस्पताललाई प्रतिष्ठानले उपलब्ध गराएको पिपिइ सेटबक्स महत्वपूर्ण साधन हुने बर्दिवास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले बताउनुभयो ।

अस्पताललाई यो सामग्री प्राप्त भएपछि स्वास्थ्यकर्मी सङ्क्रमण जोखिम कम हुने विश्वास गर्छन् । “सङ्क्रमण जोखिम घटाउन यो स्वाब सङ्कलनमा संलग्न स्वास्थ्यकर्मीका लागि महत्वपूर्ण साधन हो”, बर्दिवास नगरपालिकाले सञ्चालन गरेको कोभिड–१९ रोकथाम अभियानको सहसंयोजकसमेत रहनुभएका स्वास्थ्यकर्मी रामबाबु यादव भन्नुहुन्छ, “यो बक्सको सही प्रयोगले स्वाब सङ्कलनका क्रममा स्वास्थ्यकर्मीमा सङ्क्रमण हुने जोखिम अब धेरै कम हुनेछ ।”

बर्दिवासका उद्यमी व्यवसायी खड्काले आफ्ना दिवङ्गत मातापिताको सम्झनामा स्थापना गर्नुभएको प्रतिष्ठानले स्वास्थ्य र शिक्षा क्षेत्रमा काम थालेको छ । गत सातामात्रै प्रतिष्ठानले बर्दिवास नगरक्षेत्रका निर्धन परिवारका जेहेन्दार विद्यार्थीलाई प्राविधिकधारको शिक्षाका लागि १५ जनालाई रु २५ लाख छात्रवृत्ति उपलब्ध गराउने घोषणा गरिसकेको छ । यसअघि गत जेठमा बर्दिवास नगरक्षेत्रमा कोभिड–१९ सङ्क्रमण ह्वात्तै बढ्दा होटल व्यवसायी प्रतिष्ठानका अध्यक्ष खड्काले एक महिनासम्म क्वारेन्टिन सञ्चालनको सम्पूर्ण व्ययभार बेहोर्नुभएको थियो ।

जताततै क्वारेन्टिन व्यवस्थापन राम्रो हुन नसकेको गुनासो बढेका बेला खड्काले त्यहाँ बस्नेहरुको खानपिन, बसाइ, आवश्यक सामग्रीको कुशल व्यवस्थापनमा देखाउनुभएको कौशलको बर्दिवास नगरवासीले सम्झना गर्ने गरेका छन् । खड्काले क्वारेन्टिन सञ्चालनमा देखाउनुभएको कौशल र तत्परता यस भेगमा राम्रो मानकका रूपमा स्थापित भएको बर्दिवास नगरपालिकाका प्रमुख कार्कीको भनाइ छ ।