१६ चैत्र २०८०, शुक्रबार

दम्पतीमाथि आक्रमण हुँदा श्रीमतीको मृत्यु, श्रीमान्को अवस्था गम्भीर

ezgif.com gif maker 3

रौतहटको देवाही गोनाही नगरपालिकामा एक महिलाको हत्या भएको छ । उनका श्रीमान्को अवस्था गम्भीर छ ।

देवाही गोनाही–५ टिकुलियाका महेश तिवारी र उनकी पत्नी जगरामी देवीमाथि आक्रमण हुँदा जगरामी मृत्यु भएको प्रहरीले जनाएको छ । चार जनाको समूहमा आएका व्यक्तिले धारिलो हतियारले प्रहार गर्दा घाइते भएका तिवारी दम्पतीलाई उपचारका लागि वीरगञ्ज लगिएको थियो । उपचारकै क्रममा आज जगरामीको मृत्यु भएको छ भने वीरगंञ्जस्थित न्यूरो अस्पतालमा उपचार गराइरहेको महेशको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिद्धि विक्रम शाहले जानकारी दिनुभयो ।

उनीहरुले जग्गा विवादमा साक्षी बसेको भन्दै तिवारी दम्पतीमाथि आक्रमण भएको प्रहरीको प्रारम्भीक अनुमान छ । घटनामा संलग्न बलीराम मुखिया बिन पक्राउ परिसकेको छ भने बाँकीको खोजी भइरहेको प्रहरी उपरीक्षक शाहले बताउनुभयो ।

जग्गा विवादका कारण परेको मुद्दामा साक्षी बसेका तिवारी दम्पतीलाई शुक्रबार साँझ देवाही गोनाही–५ का सोनालाल मुखिया बिन, प्रजित मुखिया बिन र बलिराम मुखिया बिन सहित चार जना मिलेर आक्रमण गरेका थिए ।