१६ चैत्र २०८०, शुक्रबार

शहरी क्षेत्र जलमग्न भएपछि पुरानो नहर खोतल्दै महानगर

Bharatpur mahanagar

भरतपुर महानगरपालिकाको मुख्य शहरी क्षेत्र जलमग्न भएपछि निकासका लागि पुरानो नहरको खोतल्न थालिएको छ । नारायणी लिफ्ट सिँचाइ आयोजनाको पानी बग्ने नहरहरु ठाउँठाउँमा पुरेर सडक बनाएसँगै शहरी क्षेत्रमा निकासको अभाव हुँदा जलमग्न हुन पुगेको हो ।

भरतपुर महानगरपालिका­१० मा अध्यक्ष निर्वाचित भएपछि आफँैले नहर पुरेर सडक बनाउनु भएका अरुणपीडित भण्डारीले आज आफैँ डोजरमा चढेर बाटोलाई नहर बनाउन शुरु गर्नु भएको छ । नहर पुरिएपछि भरतपुर महानगरपालिका वडा नम्बर १०, ११, १२ र ७ डुवानमा परेका छन् । अधिकांश सरकारी कार्यालय डुबेका छन् ।

ठाउँठाउँमा अव्यवस्थित रुपमा गरिएको जग्गाको खण्डीकरण र संरचनाले पानीको प्राकृतिक बहाव रोकिंदा पानी जम्ने समस्या आएको छ । नहरको कतिपय भाग पुरेर सडक बनाइएको छ भने कतिपय ठाउँमा निजी तथा सार्वजनिक भवन समेत बनाइएको छ । महानगरमा वर्षाको पानी जाने उचित निकास हुन नसक्दा शहरी क्षेत्र डुबानमा पर्ने गरेको हो । वर्षामा शहरी क्षेत्रमा परेको पानी नहर हुँदै जाने गर्दथ्यो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले तत्काल पानीको निकासका लागि पहिले नारायणी लिफ्टको नहर भएको नहरचोकदेखि रिजालचोक हुँदै केरुङ्गासम्म खनेर कुलो बनाइने बताउनुभयो । त्यसैगरी पूर्व­पश्चिम राजमार्ग र वाइपास सडकमा व्यवस्थित ढल निर्माण गरी केरुङ्गा र पुङ्गी खोलामा मिसाइने दाहालले जानकारी दिनुभयो । पुनः निर्माण हुँदै गरेको हुलाकी सडकको मुख्य बस्ती भएको ठाउँमा ढलको व्यवस्था गरिनेछ । त्यसलाई पनि केरुङ्गामा मिसाइने उहाँले बताउनुभयो ।

नारायणी लिफ्ट खगेरी सिँचाइ व्यवस्थापन कार्यालय भरतपुरका प्रमुख खेमबहादुर पाठकका अनुसार नारायणी लिफ्टको बी पम्प हाउसबाट तानेको पानी सि एल १ क्यानलमार्फत् आउने नहर पूरै मासिएको छ । भरतपुरको बसेनीबाट नहरचोक, मेडिकल कलेज, गेष्टहाउस चौर, कारागार, रिजालचोक हुँदै उक्त नहर प्रेमबस्तीसम्म पुगेको छ ।

नारायणी लिफ्ट सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर रानाभाटले सरकारी निकायकै संरक्षणमा नहर अतिक्रमण हुँदा अहिले शहरी क्षेत्र डुबेको र खेतीयोग्य जमीनमा सिँचाइ अभाव भएको बताउनुभयो । उहाँका अनुसार नहरको अन्तिम बिन्दु प्रेमबस्तीलगायतका क्षेत्रमा नहरको पानी पुग्न नसक्दा सिँचाइमा समस्या हुने गरेको छ ।

लिफ्टले भरतपुर महानगरपालिकाको वडा नम्बर ४, ५, ६, ८, ९, ११, १२, १४, १५ लगायतका वडाका तीन हजार ५०० हेक्टर प्रत्यक्ष रुपमा सिँचित गर्दै आएको छ । विसं २०४० मा स्थापना गरिएको यस लिफ्ट परियोजनाबाट आएको पानी खगेरी सिँचाइमा मिसाएर पश्चिम चितवनका अन्य वडाहरुमा पनि सिँचाइ गरिँदै आएको छ ।