
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले २२ जनालाई जिउँदै ईँटा भट्टामा जलाएर हत्या गरेको आरोपमा प्रहरी हिरासतमा रहेका काँग्रेस सांसद मोहम्मद आलमको बचाउमा आफु र काँग्रेस नलागेको स्पष्ट पारेका छन्। उनले आलम विरुद्धको अनुसन्धानमा काँग्रेसले सहयोग गर्नेसमेत बताएका छन्।
नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यक्रममा आलमबारे आफ्नो अभिव्यक्ति विवादमा परेपछि देउवाले शनिबार एक विज्ञप्ति जारी गर्दै उनले यस्तो बताएका हुन्।
कुनै पनि गम्भीर मुद्दामा प्रक्रियागत ढिलासुस्ती हुँदा सत्य अन्वेषणमा बाधा पुग्ने भन्दै उनले भने, ‘१२ वर्ष पुरानो मुद्दामा मैले यही संकेत गरेको हुँ तर कानुनी राज्यमिा विश्वास गर्ने कांग्रेस कोहीमाथि पनि जरुरी अनुसन्धानको विपक्षमा उभिन सक्दैन ।’
मोहम्मद आफताव आलम माथिको मुद्दा पूर्वाग्रह र दबाबमुक्त रहेर अनुसन्धान गर्न कांग्रेसले सघाउने उनले बताए । ‘निर्दोष कोही दण्डित नहुने र दोषीलाई उन्मुक्ति नहुन नहुने हाम्रो प्रष्ट मान्यता म सार्वजनिक रुपले प्रष्ट्याउन चाहन्छु,’ देउवाले भनेका छन् ।
आलम त्यतिबेला रौतहट २ बाट संविधानसभामा विजयी भएका थिए। २०७४ को आम निर्वाचनमा पनि उनी रौतहट २ बाट प्रतिनिधिसभामा विजयी भएका थिए। प्रहरीले पक्राउ गरेसँगै उनी हाल निलम्बित भएका छन्।