
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले विदेशी दबाब र इशारामा हिँड्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन् ।
नेपालले ठुला राष्ट्रका स्वार्थबाट नेपाललाई जोगाइराख्नुपर्ने चुनौती थपिएको बताएका छन् ।
शनिबार काठमाडौंमा सन्चार केन्द्र नेपालले आयोजना गरेको कार्यक्रममा उनले आफ्नो स्वार्थ पूरा गर्न विदेशी शक्तिले जस्तोसुकै कदम पनि चाल्नसक्ने भएकाले यसप्रति सरकार र राजनीतिक दल चनाखो हुनुपर्ने बताए ।
नेपालको स्वतन्त्रता, स्वभिमान आन्तरिक मामिलामा अहस्तक्षेप, पारस्परिक लाभको सिद्धान्तको आधारमा सम्बन्ध कामय गर्नुपर्ने भन्दै उनले भने, ‘धेरै माया गर्यो भने खतरा हुन्छ किनकी सबैका आफ्ना आफ्ना हितहरु हुन्छन्, हरेक ठूला राष्ट्रहरुका आफ्ना स्वार्थ हुनसक्छ ।’
उनले गैर आवासीय नेपाली संघको नयाँ नेतृत्वका लागि निर्वाचित पदाधिकारीलाई नेपालप्रतिको उद्देश्यमा स्पष्ट हुन आग्रह गरे । दोहोरो नागरिकता र राजनीतिक अधिकारको खोजीलाई उनले ‘चिचि पनि पापा पनि” को संज्ञा दिदै त्यस्तो सुविधा असम्भव रहेको बताए । उनले भने, ‘ दुईवटा नाउमा खुट्टा राख्ने मान्छे सागर गर्न सक्दैन । चिचि पनि पापा पनि हुँदैन । राजनीति गर्न खोजेको भए पहिला जनताको मन र विश्वास जित्नुहोस् । उद्देश्यमा क्लियर हुनुहोस् ।’