१३ बैशाख २०८१, बिहीबार

के हो ‘फिनसेन फाइल्स’ ?

FinCEN Files ICIJ

अमेरिकालगायतका देशमा हुने व्यापार व्यवसायका क्रममा कुनै व्यक्ति वा संस्थाले शंकास्पद वा अवैध आर्जन, कारोबार गरेर सम्पत्ति शुद्धीकरण र अन्य आपराधिक क्रियाकलाप गर्न खोजेमा बैंक तथा वित्तीय संस्थाले उक्त गतिविधि निगरानी गर्नुपर्छ । त्यस्तो देखिए ६० दिनभित्र ‘फाइनान्सियल क्राइम्स इन्फोर्समेन्ट नेटवर्क’ (फिनसेन) लाई जानकारी दिनुपर्छ । यो अमेरिकी सरकारको ‘डिपार्टमेन्ट अफ दी टे«जरी’ अन्तर्गतको निकाय हो ।

यो अमेरिकी संघीय सरकारको राष्ट्रिय कोषको कार्यालय हो ।

विभिन्न कागजातहरूबाट कुनै ग्राहकको बारेमा प्रश्न उठ्ने अवस्था आएपछि अमेरिकी बैंकहरूले त्यसबारे ‘फिनसेन’ लाई जानकारी गराउने गर्छन् । यस्तो निगरानीका क्रममा प्रत्येक वर्ष ‘फिनसेन’ मा शंकास्पद धनको कारोबार र ओसारपसार सम्बन्धी १० लाखभन्दा बढी प्रतिवेदनहरू तयार हुन्छन् ।

‘फिनसेन’ का २ हजार १२१ शंकास्पद प्रतिवेदनहरू अमेरिकी सञ्चारगृह ‘बजफिड न्यूज’ ले प्राप्त गर्‍यो । उसले ‘फिनसेन’ बाट उक्त प्रतिवेदनहरूसहित २ हजार ६५७ फाइलहरू आईसीआईजेलाई उपलब्ध गरायो । त्यसका आधारमा आईसीआईजे, ‘बजफिड न्यूज’ र अन्य संचार संस्थाहरूबीच भएको सहकार्यमा १६ महीना लामो अनुसन्धान पछि यो खुलासा गरेको हो । जसलाई ‘फिनसेन फाइल्स’ नाम दिइएको छ ।

यो खुलासामा आईसीआईजे, बजफिड सहित ८८ देशका ११० सञ्चारमाध्यम आवद्ध ४०० भन्दा बढी पत्रकार सहभागी भएर थप खोज गरेका हुन् । खोजी गर्ने क्रममा पत्रकारहरूको समूहले सूचनाको हक सम्बन्धी निवेदन र अन्य स्रोतबाट वित्तीय संस्था र कारोबारसम्बन्धी थप १७ हजार ६४१ रेकर्डहरू प्राप्त गरेका थिए ।

११ वर्षमा नेपालका ९ वटा बैंक, १० वटा कम्पनी र विभिन्न व्यक्तिहरूबाट ३४ अर्ब ८४ करोड बढीको शंकास्पद कारोबार

‘फिनसेन फाइल्स’ सन् १९९९ देखि २०१७ सम्मको अवधिमा भएको कारोबारको खुलासा हो । यो अवधिमा बैंकहरूले आफ्ना ग्राहकको शंकास्पद आर्थिक कारोबार र ओसारपसारबारे निगरानी गरी ‘फिनसेन’ लाई जानकारी दिएका हुन् । फिनसेनले बैंकहरूबाट प्राप्त गरेको विवरण अनुसार, कुल २० खर्ब ९९ अर्ब ५८ करोड ५९ लाख २७ हजार २७५.४७ अमेरिकी डलरको शंकास्पद कारोबार भएको देखिन्छ ।

आईसीआईजेले संयुक्त राष्ट्रसंघको ‘ड्रग एण्ड क्राइम अफिस’ ले गरेको संगठित अपराध र लागूऔषधको तस्करी गरेर आर्जन गरिएको अवैध धनबारे अध्ययन प्रतिवेदनलाई उद्धृृत गरेको छ । जसमा सन् २००९ मा आपराधिक तरिकाले गरेको आम्दानी विश्वको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ३.६ प्रतिशत रहेको देखाएको थियो । जीडीपीको २.७ प्रतिशत अर्थात् १६ खर्ब अमेरिकी डलर रकम चाहिं शुद्धीकरण गरिएको अध्ययनको निष्कर्ष थियो । “सोही तथ्यांक विश्लेषण अनुसार विश्व अर्थतन्त्रको २.७ प्रतिशत रकम अवैध रूपमा आर्जन गरिएको धन हो” आईसीआईजेले भनेको छ, “यो रकम अन्तर्राष्ट्रिय वित्तीय प्रणाली मार्फत शुद्धीकरण गरियो । अहिले यो रकम २४ खर्ब अमेरिकी डलर बराबर हो ।”

ग्राहकको निगरानी राख्ने फिनसेनले आईसीआईजे र अन्य कुनै पनि मिडियालाई औपचारिक प्रतिक्रिया दिन चाहेन । उल्टै फिनसेनले १ सेप्टेम्बर २०२० मा विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चारमाध्यमले शंकास्पद गतिविधिसम्बन्धी प्रतिवेदन (सार) र सरकारका धेरै वर्ष पहिलेका संवेदनशील कागजपत्रमा आधारित रिपोर्टहरू प्रकाशित गर्न खोजेको बारेमा आफू सचेत भएको बताएको थियो ।

फिनसेनले सारको अनधिकृत खुलासा भए अपराध हुने र त्यसले अमेरिकाको राष्ट्रिय सुरक्षामा असर गर्न सक्ने भनेको छ । “फिनसेनले यसको जानकारीलाई अमेरिकाको न्याय विभाग र ट्रेजरी विभागको महानिरीक्षकको कार्यालयलाई पठाएको छ”, विज्ञप्तिमा भनिएको छ ।