१५ चैत्र २०८०, बिहीबार

संविधान दिवसमा राउटेलाई खाद्यान्न

raute food distribution dailekh

फिरन्ते रुपमा जीवनयापन गर्दै आएका १ सय ५१ जनाको राउटे समुदाय हाल गुराँस गाउँपालिका–८ को धनचौरमा बसोबास गर्दै आएका छन ।

संविधान दिवसको अबसरमा राउटे समुदायका नागरिकहरुलाई खाद्यान्न वितरण गरिएको छ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले खाद्यान्न उपलब्ध गराएको हो । ४६ घरपरिवारलाई चामल, तेल, नुन लगाएतका खाद्यान्न उपलब्ध गराईएको छ । संस्थाका संस्थापक अध्यक्ष हीरासिंह थापाले खाद्यान्न अभाव झेलिरहेका राउटे नागरिकहरुलाई संविधान दिवसको अबसर पारेर खाद्यान्न उपलब्ध गराईएको बताए ।

केहि दिन अघि राष्ट्रिय बाल दिवस समेत मनाएका राउटेको कला र संस्कृति बचाउन औपचारिक कार्यक्रममा सहभागी गराउन थालिएको थापाको भनाई छ । ‘पछिल्लो समय राउटेले आफू परिवर्तन हुने चाहना व्यक्त गर्न थालेका छन्, त्यसैले उनीहरूलाई संस्कृति र परम्परा जोगाउँदै सामाजिकीकरणको मूल प्रवाहमा ल्याउन खोजिएको हो,’ थापाले भने |

‘पछिल्लो समय राउटे समुदायले गलत संस्कार छाड्दै गइरहेका छन् ।’ एईआईएन लक्जेम्वर्गको आर्थिक सहयोगमा आफुहरुले राउटे परियोजना संचालन गरेको संस्थापक अध्यक्ष थापाले बताए ।

गुराँस गाउँपालिका–८ का वडाध्यक्ष पूर्णबहादुर ओलीले राउटे नागरिकहरुको जीवनशैली परिवर्तन हुन थालेको बताए । ‘सरसफाईमा ध्यान दिन थालेका छन्, अनिवार्य हात धुनुपर्छ भन्ने बानी परेको छ,’ वडाध्यक्ष ओलीले भने ‘मजदुरी गर्न समेत थालिसकेका छन् ।’

स्थानीय सरकारले राउटे नागरिकहरुको शिक्षा, स्वास्थ्य, सरसफाई र जीवनशैली परिवर्तनका लागि विभिन्न गैससहरुसँग सहकार्य गरेर काम गरिरहेको वडाध्यक्ष ओलीको भनाई छ ।